नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ फड्को, उद्योग वाणिज्य संघको स्वागत

nepal-india-energy-cooperation-new-milestone

काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा क्षेत्रीय सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकमा भएका निर्णयलाई नेपाल–भारत उद्योग वाणिज्य संघले स्वागत गरेको छ। संघका अनुसार सीमापार विद्युत् प्रसारण क्षमता विस्तार हुनु दुई मुलुकबीचको ऊर्जा साझेदारीका लागि महत्वपूर्ण पाइला हो।

बिहीबार जारी विज्ञप्तिमा संघले ढल्केबार–मुजफ्फरपुर र ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनहरूको क्षमता विस्तार गरिने जनाएको छ। यसअनुसार नेपालबाट भारततर्फको विद्युत् निर्यात क्षमता १,१०० बाट बढेर १,६५० मेगावाट पुग्नेछ भने आयात क्षमता १,००० बाट बढेर १,४०० मेगावाट पुग्नेछ। यसले थप ५५० मेगावाट विद्युत् निर्यातको ढोका खोलेको संघको भनाइ छ।

इनरुवा–पूर्णिया, दोधोधरा–बरेली, मोतिहारी–निजगढ, चमेलिया–जौलजीबी र नयाँ बुटवल–गोरखपुर जस्ता अन्य सीमापार प्रसारण आयोजनाहरूमा भइरहेको प्रगतिलाई पनि संघले दुई देशबीचको बढ्दो विश्वास र समझदारीको प्रतिफलका रूपमा लिएको छ। यस्ता पहलले दक्षिण एसियाली क्षेत्रीय विद्युत् बजार निर्माणमा समेत योगदान पुर्याउने संघको विश्वास छ।

नेपाल विद्युत प्राधिकरण (एनईए) र भारतको पावर ग्रिड कर्पोरेशन (पीजीसीआईएल) बीच बढ्दै गएको संस्थागत सहकार्यलाई पनि संघले सकारात्मक रूपमा लिएको छ। साथै सरकारी तहको सहकार्यमात्र नभई निजी क्षेत्र र सार्वजनिक संस्थानहरूबीचको साझेदारी पनि थप विस्तार हुनुपर्ने संघको सुझाव छ, जसले ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार, प्रविधि हस्तान्तरण र लगानीलाई गति दिन सक्ने बताइएको छ।

नेपालको जलविद्युत सम्भावना र भारतको स्वच्छ ऊर्जा माग जोडिँदा दुवै मुलुकका लागि दीर्घकालीन लाभ हुने संघको ठहर छ। साथै नेपालले आफ्नै बढ्दो विद्युत् उत्पादनलाई औद्योगिकीकरण, डाटा सेन्टर, विद्युतीय सवारीसाधन, रेलवे र हरित हाइड्रोजन जस्ता क्षेत्रमा उपयोग गर्दै आन्तरिक खपत र निर्यात दुवैलाई समान प्राथमिकता दिनुपर्ने संघले जोड दिएको छ।

अन्त्यमा, भारतीय सार्वजनिक तथा निजी लगानीकर्तालाई नेपालको जलविद्युत, प्रसारण पूर्वाधार र ऊर्जा उद्योगमा थप लगानी गर्न संघले आग्रह गरेको छ, जसका लागि स्थिर र लगानीमैत्री नीतिगत वातावरण महत्वपूर्ण रहने बताइएको छ।