विद्युत् महसुलमा असुलिएको भ्याट भदौको बिलमा समायोजन गर्ने : प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धमा उत्पन्न भएको अन्योल हटाउँदै श्रावण महिनामा विद्युत् महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याट रकमलाई भदौको बिलबाट मिलान गरिने प्रस्ट पारेको छ ।
आर्थिक ऐन २०८३ अनुसार विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्थाबमोजिम प्राधिकरण २०८३ श्रावण १ गतेदेखि भ्याटमा दर्ता भएको हो । त्यसपछि जारी भएका मासिक विद्युत् महसुल बिलमा नियमानुसार भ्याट समावेश गरिएको थियो ।
तर २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल श्रावण १ गते वा त्यसपछि प्राप्त भएकोमा समेत भ्याट थपिएकाले ग्राहकबीच अन्योल सिर्जना भएको थियो । यसै अन्योल हटाउन प्राधिकरणले असार महिनासम्मको खपतमा गलत रूपमा उठेको भ्याट रकम भदौको बिलबाट कट्टा गरी समायोजन गर्ने प्रक्रिया अघि सारेको हो ।