दुवै हात गुमाएको बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार क्षतिपूर्ति स्वीकृत
७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेरीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित रु. १५ लाख ७१ हजार २५० क्षतिपूर्ति प्रदान गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको हालैको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।
प्राधिकरणका अनुसार घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा करेन्ट लागेर उक्त दुर्घटना भएको थियो । स्वीकृत रकम सुस्ता पूर्व वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ । विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुखले, २ देखि ५ लाखसम्म सम्बन्धित उपकार्यकारी निर्देशकले, ५ देखि १० लाखसम्म मुख्य प्रशासकीय अधिकृतले र १० लाखभन्दा बढी रकम सञ्चालक समितिले नै निर्णय गर्नुपर्ने व्यवस्था छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको बताउँदै मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुने बताए । ‘यो रकमले पीडा भुलाउने त होइन तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था एकतिर भइरहेकै विषय हो । तर पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटनाको न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज सचेत हुनुपर्छ ।’
मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षति डरलाग्दो रहेको उल्लेख गर्दै प्राधिकरणलाई आफ्ना संरचना मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई जनचेतना तथा पूर्वसूचनाका कार्य तीव्र बनाउन निर्देशन दिए । साथै विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिकको सचेतना पनि अपरिहार्य रहेकोमा उनले जोड दिए ।