एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक भएपछि आपत्ति

ncell-share-transaction-investigation-report-foreign-investment-warning

एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कम्पनीले प्रतिवेदनमा रहेका संवेदनशील व्यावसायिक तथा लगानीसम्बन्धी विवरण सार्वजनिक हुँदा लगानीकर्ताको गोपनीयता संरक्षणबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने दाबी गरेको छ । एनसेलका अनुसार यसले नेपालमा नयाँ विदेशी लगानी आकर्षित गर्न तथा विद्यमान लगानीकर्ताको विश्वास कायम राख्न चुनौती सिर्जना गर्न सक्छ ।

कम्पनीले संविधान, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा करसम्बन्धी कानुनले संरक्षण गरेका गोपनीयताको अधिकार उल्लङ्घन भएको दाबी गरेको छ । प्रतिवेदनमा शेयरधनी, सञ्चालक तथा हिताधिकारीसँग सम्बन्धित सम्पत्ति, कारोबार, तथ्यांक, पत्राचार र अन्य संवेदनशील विवरण रहेको भन्दै एनसेलले ती सूचना सार्वजनिक गर्न नमिल्ने तर्क गरेको छ । साथै, प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय अदालतको फैसलासँग समेत बाझिएको कम्पनीको दाबी छ ।

एनसेलले सरकारको निर्णयविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धि–सम्झौताअनुसार कानुनी उपचार खोज्ने अधिकार सुरक्षित राखेको जनाएको छ । कम्पनीले प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई एउटा कम्पनीको मात्र मुद्दा नभई नेपालमा लगानी सुरक्षा, व्यावसायिक गोपनीयता र विदेशी लगानीकर्ताको विश्वाससँग जोडिएको विषयका रूपमा व्याख्या गरेको छ ।