June 30, 2026 1 MIN READ

नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने

1 MIN READ
national-music-award-8th-edition-lalitpur-june-2026

नेशनल म्युजिक अवार्डको आठौं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। आम दर्शकलाई समेट्ने यस प्रतिष्ठित कार्यक्रममा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै ‘एक्सट्रिम इनरजेटिक पर्फमर अफ दि इयर’ पनि प्रदान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने भएको रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

कन्सर्टमा जोन एण्ड द लोकल्स, दिपक बज्राचार्यलगायत उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ।

उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक/गायिका, उत्कृष्ट पाश्र्व गायक/गायिका, उत्कृष्ट पप गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप तथा आर.एन.बि र उत्कृष्ट आधुनिक गायक/गायिका गरी विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

दीर्घकालसम्म गीत-सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनुभएका व्यक्तित्वलाई एक लाख रुपैयाँ रकमसहितको लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइनेछ। यसबाहेक स्रोताको सहभागिता रहने पिपुल्स च्वाइस अवार्डका लागि ई-सेवामार्फत भोटिङ हुनेछ, जसमा सर्वाधिक भोट पाउने गीत र स्रष्टा विजेता हुनेछन्।

२०८२ वैशाख १ देखि चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूमध्येबाट विभिन्न विधाका उत्कृष्ट पाँच-पाँच जनाको मनोनयन गर्न तीन सदस्यीय जुरी समिति गठन गरिएको थियो, जसकै निर्णयअनुसार मनोनयन भएको हो।

सय भन्दा बढी कलाकारको सहभागितामा हुने यो कार्यक्रम साङ्गीतिक महोत्सवकै रूपमा रहनेछ। कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यसलाई नेपाली सङ्गीत उद्योगको साझा थलोको रूपमा उल्लेख गर्दै समग्र सङ्गीत क्षेत्रकै उत्थानमा योगदान पुर्‍याउने इभेन्टको रूपमा लिन सञ्चारकर्मीहरूलाई आग्रह गरे।