नाइमा एक्स्पोमा चार दिनमै १ लाख ८ हजार दर्शक
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन् । बिदाका दिनमा अझ बढी भीड हुने अनुमान गर्दै आयोजकले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेर थप स्थानको व्यवस्था गरेको जनाएको छ । एक्स्पोमा पहिलो दिन २९ हजार दोस्रो दिन २६ हजार तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् । एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् भने विभिन्न ब्रान्डले हालसम्म ५२ नयाँ मोडल सार्वजनिक गरिसकेका छन् । विद्युतीय कार ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । ग्राहकले ब्याट्री क्षमता मोटर रेन्ज आफ्टर–सेल्स सर्भिस ब्याट्री वारेन्टी तथा रिसेल भ्यालुमा बढी चासो देखाएका छन् । एक्स्पोमा सहभागी कम्पनीहरूले छुट बिमा सवारी कर निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा पनि उपलब्ध गराइरहेका छन् ।
एक्स्पोअन्तर्गत दिगो यातायात प्रणाली ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङलगायत विषयमा समेत छलफल भइरहेको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताका नयाँ ब्रान्ड तथा मोडल प्रमुख आकर्षण बनेका छन् ।