परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङ: राहदानी सुधार र अन्तर्राष्ट्रिय सहकार्यका १० विषय
काठमाडौं । परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका हालका गतिविधि, द्विपक्षीय सम्बन्ध, राहदानी सेवा सुधार लगायत १० वटा महत्वपूर्ण विषय सार्वजनिक गरेको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ब्रिफिङमा यी विषयवस्तु प्रस्तुत गरेका थिए । उनका अनुसार सरकार गठन भएको सय दिनभित्रका प्रमुख उपलब्धिको विवरण असार २० गते नै सार्वजनिक गरिसकिएको र हाल वेबसाइटमा उपलब्ध रहेको जानकारी दिइयो ।
नागरिकलाई सहज राहदानी सेवा दिने उद्देश्यले मन्त्रालयले सुधारका काम अघि बढाएको छ । प्रवक्ताका अनुसार नयाँ राहदानी प्रणाली आगामी असार २९ गते (१३ जुलाई २०२६) बाट लागू हुनेछ, यद्यपि सुरुमा साना प्राविधिक समस्या देखिन सक्ने बताइयो ।
राहदानी ऐन २०७६ को पहिलो संशोधन विधेयक जनमत सङ्कलनका लागि सार्वजनिक गरिएको छ भने राहदानी वितरणलाई द्रुत बनाउन हुलाक विभागसँग सहकार्य सम्झौता भएको छ । साथै कुनै पनि जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्थाको प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल ज्याउदीको नेतृत्वमा १८ सदस्यीय टोलीले नेपालको तीनदिने भ्रमण गरेको छ, जसमा व्यापार, लगानी, एआई, पर्यटन र ऊर्जा लगायत विषयमा छलफल भएको थियो । त्यस्तै चीनका वाणिज्य उपमन्त्री यान डोङको नेतृत्वमा आएको टोलीसँग जुलाई ६ देखि ८ सम्म नेपाल–चीन आर्थिक तथा व्यापार संयुक्त समितिको १२औं बैठक सम्पन्न भएको छ ।
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डस्थित अनलाइन ठगी केन्द्रबाट हालसम्म ८३६ नेपाली उद्धार भइसकेको मन्त्रालयले जनाएको छ, जसमध्ये सबैभन्दा बढी ७०९ जना कम्बोडियाबाट फर्किएका छन् ।
मन्त्रालयले भारत, चीन, अमेरिका लगायत १० देशका लागि तयार गरिएको कन्ट्री–स्पेसिफिक रणनीतिलाई थप विस्तार गर्दै हाल २० देशसम्मको रणनीति तयार पारेको जनायो । नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्शको तेस्रो बैठक आगामी २४ जुलाई काठमाडौंमा हुने पनि जानकारी दिइयो ।
पश्चिम एसियाको अवस्थाप्रति नेपाल सजग रहेको र क्षेत्रीय शान्तिका लागि वार्ता–कूटनीतिको पक्षमा रहेको मन्त्रालयले दोहोर्याएको छ । त्यहाँ रहेका नेपालीको अवस्था हाल सामान्य रहेको पनि उल्लेख गरियो ।
अन्त्यमा, आत्मदाहपछि उपचाराधीन रहेका मुगुका गणेश नेपालीको निधनप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै, स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएकाले चिकित्सकको सल्लाहअनुसार नयाँ दिल्ली लैजान नसकिएको जानकारी दियो ।