July 6, 2026 0 MIN READ

आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ : मन्त्री यादव

0 MIN READ
minister-yadav-internal-employment-labor-sector-reform-progress

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकार युद्धस्तरमा लागिरहेको बताएका छन् ।

राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकारले वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ घोषणा गरिसकेको र सोअनुरूप राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिए । उनका अनुसार मुलुकमा पहिलोपटक ‘हेरचाह अर्थतन्त्र’ (केयर इकोनोमी) सम्बन्धी नीति निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ ।

राष्ट्रिय रोजगार नीति–२०७१ लाई परिमार्जन गरी समयअनुकूल बनाउने क्रममा नयाँ नीतिको मस्यौदा तयारीमा रहेको मन्त्री यादवले जनाए ।

श्रम अधिकारलाई कार्यस्थलमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ‘कारबाही र प्रोत्साहन’ नीति अवलम्बन गरेको उल्लेख गर्दै, सरकार गठन भएको सय दिनभित्र निरीक्षण र मुद्दा फस्र्यौटका क्रममा श्रमिकको हितविपरीत काम गर्नेहरूबाट ४ करोड ४० लाख ९६ हजार २ सय ५ रुपैयाँ जरिवाना वा सहमतिस्वरूप असुल गरिएको उनले बताए । सोही अवधिमा १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण भएको र निरीक्षण दर अघिल्लो ९ महिनाको तुलनामा ६० प्रतिशतले बढेको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीसँग सम्बन्धित १ हजार ४ वटा मुद्दा तथा उजुरी सय दिनभित्रै फस्र्यौट गरी पीडितलाई ३० करोड ७५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको र यो अघिल्लो सरकारको मासिक औसतभन्दा ६२८ प्रतिशतले बढी रहेको मन्त्री यादवको दाबी छ ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न ‘एक्सन कमान्ड सेन्टर’ र ‘अपरेसन इलिगल एजेन्ट’ जस्ता अभियान सञ्चालनमा ल्याइएको उनले बताए । साथै वि.सं. २०५७ यताका ११ हजार ५ सय २८ वटा मुद्दाका फाइल डिजिटल प्रणालीमा रूपान्तरण गरिएको र उजुरीको अवस्था बुझ्न वेब पोर्टल पनि सञ्चालनमा ल्याइएको उनले जनाए ।

युवालाई स्वदेशमै रोजगारीसँग जोड्न मन्त्रालयले ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिस कार्यक्रम र ‘करियर उडान’ कार्यक्रम सञ्चालन गरेको मन्त्री यादवले बताए । यसका लागि काठमाडौं विश्वविद्यालय र भारतीय प्रविधि संस्थानसँगको सहकार्यमा सीप विकास तालिम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो ।

स्वदेशी रोजगार कार्यक्रमलाई अब अल्पकालीन रोजगारीमा मात्र सीमित नराखी सीप विकास र उद्यमशीलतासँग जोड्ने योजना रहेको उनले बताए । विदेशबाट फर्किएका श्रमिकको सीप उपयोगका लागि ‘रिटर्नी व्यवस्थापन सूचना प्रणाली’ परीक्षणको चरणमा रहेको र सोमार्फत हालसम्म १ हजार ६६ जनाले रोजगारी वा स्वरोजगारी पाइसकेको जानकारी उनले दिए ।

मन्त्री यादवले वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्नुभन्दा त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।