आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह

lpg-gas-supply-sufficient-consumers-urged-to-buy-as-needed

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले साविकको तुलनामा ग्यास आपूर्ति बढेको जानकारी दिए ।

नेपाल आयल निगमले ७.१ केजीको सिलिन्डरबाट पुनः १४.२ केजीको पूर्ण सिलिन्डरमा ग्यास वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढ्दा केही चाप परेको मन्त्रालयको भनाइ छ । हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् भने ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन र दैनिक फिलिङ क्षमता करिब १ लाख ७५ हजार सिलिन्डर रहेको छ ।

मन्त्रालयका अनुसार साउन १ देखि २९ गतेसम्म २ हजार ७८१ बुलेट ग्यास आयात भएको छ । सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकामा पछिल्लो समय दैनिक औसत करिब १ लाख ३२ हजार सिलिन्डर बजारमा पठाइएको छ । बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप आयातका लागि भारत सरकारसँग समेत अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

ग्यास वितरणसम्बन्धी समस्या समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम र ग्यास उद्योग संघका प्रतिनिधि सम्मिलित गुनासो समाधान टोली गठन गरिएको छ । साउन २० गतेदेखि काम थालेको टोलीले साउन २८ गतेसम्म ३ हजार ४४४ वटा गुनासो सम्बोधन गरेको जनाएको छ । साथै, एलपी ग्यास सिलिन्डरको वितरणलाई व्यवस्थित बनाउन सिलिन्डर ट्र्याकिङ प्रणाली विकासको काम अघि बढाइएको छ ।

मन्त्रालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यवसायीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आपूर्ति सहज बनाउन आवश्यक समन्वय र अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ ।