सोलुखुम्बुको हुङ्गा खोलामा पहिरोले बनाएको बाँधबाट पानी बग्न थाल्यो
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुडेल क्षेत्रमा पहिरोले हुङ्गा खोला थुनिएर बनेको अस्थायी बाँधबाट पानी बग्न थालेको छ । केही समय नदी पूर्ण रूपमा थुनिएपछि करिब ४० मिटर क्षेत्रफलमा पानी जमेको थियो । अहिले पानीको सतह बढ्दै बाँधमाथिबाट बगेर तलतर्फ जान थाले पनि बाँध फुटेर बाढी आउन सक्ने जोखिम भने कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ ।
दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीका अनुसार पहिरोपछि हुङ्गा खोलामा करिब ३५ देखि ४० मिटर चौडाइको प्राकृतिक बाँध बनेको थियो । ठूलो नदी भएकाले केही समय पूर्ण रूपमा अवरुद्ध भएको खोलामा पानी भरिएपछि अहिले बाँधमाथिबाट पानी बग्न थालेको उनले बताएका छन् । पानी बग्न थाले पनि अवस्था अझै जोखिममुक्त नभएको उनको भनाइ छ ।
हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसैले खोलामा बनेको अस्थायी बाँध अचानक भत्किएमा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै नदी किनार आसपासका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्थानीय प्रशासन र प्रहरीले हुङ्गा खोला तथा दूधकोशी नदीका किनारमा रहेका बासिन्दालाई नदीबाट टाढा रहन र सतर्क अवस्थामा बस्न आग्रह गरेका छन् । पानी बग्न थाले पनि पहिरोले बनाएको बाँध कुनै पनि बेला भत्किन सक्ने र त्यसबाट अचानक बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनारमा नजान स्थानीयलाई सचेत गराइएको छ ।
अधिकारीहरूले नदीको अवस्था निरन्तर निगरानीमा राखिएको जनाउँदै सम्भावित जोखिमलाई ध्यानमा राखेर नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा प्रशासन र सुरक्षाकर्मीले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेका छन् ।