केएमसीमा ८ वर्षीया बालिकाको पेटबाट डेढ किलोको ट्युमर सफलतापूर्वक निकालियो

kmc-8-year-old-girl-tumor-surgery

काठमाडौं मेडिकल कलेज (केएमसी)का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल टेरेटोमा ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका छन् ।

त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको ठूलो टेरेटोमा ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निकालिएको हो । करिब डेढ महिनादेखि बान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि अभिभावकले नियामालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज ल्याएका थिए । स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र असामान्य रूपमा ठूलो ट्युमर रहेको शंका भएपछि सीटी स्क्यान गरिएको थियो । सीटी स्क्यानमा पेटभित्र ठूलो आकारको ट्युमर रहेको र त्यसले आसपासका महत्वपूर्ण अंग तथा रक्तनलीमा दबाब दिइरहेको देखिएको थियो । चिकित्सकका अनुसार ट्युमरले मिर्गौलालाई तलतिर र फोक्सोलाई माथितिर धकेलेको थियो भने मुटुबाट शरीरको तल्लो भागतर्फ रगत लैजाने प्रमुख रक्तनलीमा समेत दबाब परेको थियो । ट्युमरको आकार ठूलो भएकाले शल्यक्रिया गरेर निकाल्ने निर्णय गरिएको थियो । डा. आशीषलाल श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले करिब तीन घण्टा लगाएर जटिल शल्यक्रिया गरी महत्वपूर्ण रक्तनली तथा आसपासका अंगमा चोट पुग्न सक्ने जोखिमका बीच ट्युमर पूर्ण रूपमा निकाल्न सफल भएको हो । शल्यक्रियापछि नियामाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी पूर्ण रूपमा स्वस्थ भएर घर फर्कने तयारीमा छिन् ।

ट्युमर पूर्ण रूपमा निकालिएकाले भविष्यमा सोही समस्या दोहोरिने वा ट्युमर पुनः फैलिने सम्भावना निकै कम रहेको डा. श्रेष्ठले बताएका छन् । चिकित्सकका अनुसार टेरेटोमा जन्मजात रूपमा विकसित हुने ट्युमर हो र यसको विकासको निश्चित कारण सधैं पहिचान गर्न सकिँदैन । नियामाको हकमा पनि ट्युमर निकै ठूलो भइसक्दासम्म स्पष्ट लक्षण नदेखिएका कारण समस्या ढिलो पहिचान भएको हुनसक्ने चिकित्सकको अनुमान छ । समयमै उपचार हुन नसकेको भए ट्युमरले मिर्गौला फोक्सो तथा पेटभित्रका अन्य अंगको विकास र कार्य सञ्चालनमा गम्भीर असर पार्न सक्ने अवस्था रहेको चिकित्सकले बताएका छन् । ट्युमरले सानो आन्द्रामा अवरोध सिर्जना गर्न सक्ने र त्यसबाट खाना नपच्ने तथा बान्ता हुनेलगायतका समस्या देखिन सक्ने भए पनि समयमै शल्यक्रिया भएकाले नियामालाई त्यस्ता जटिलताबाट जोगाउन सकिएको चिकित्सकको भनाइ छ ।

आठ वर्षीया बालिकाको पेटमा यति ठूलो ट्युमर भेटिनु असामान्य अवस्था भएको डा. आशीषलाल श्रेष्ठले बताएका छन् । ट्युमरको आकार बढ्दै गए पनि सुरुवाती चरणमा खासै लक्षण नदेखिएकाले उपचारका लागि अस्पताल आउन ढिलाइ भएको हुनसक्ने उनको अनुमान छ । छोरीको पेटमा यति ठूलो ट्युमर रहेको आफूले कल्पनासमेत नगरेको नियामाका बुबा नवीन राईले बताएका छन् । ट्युमरबारे थाहा पाएपछि आफू निकै आत्तिएको भए पनि केएमसीका चिकित्सक तथा उपचार टोलीले सफल शल्यक्रिया गरेर छोरीको जीवन बचाएको भन्दै उनले चिकित्सकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

जटिल शल्यक्रिया सफल भई छोरीको स्वास्थ्यमा सुधार आएपछि राई परिवारले काठमाडौं मेडिकल कलेजका चिकित्सक नर्सिङ टोली तथा सम्पूर्ण उपचार टोलीप्रति विशेष आभार व्यक्त गरेको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माको पहलमा सञ्चालन हुँदै आएको काठमाडौं मेडिकल कलेजले आर्थिक रूपमा कमजोर तथा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई उपचारमा सहयोग गर्दै आएको जनाएको छ ।