खावालिङ स्कुल कुटपिट प्रकरण : पीडित विद्यार्थीलाई भेटी शिक्षा मन्त्रालयको चासो
काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक विद्यार्थीलाई शिक्षिकाले पिटेको घटनाले शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यान तानेको छ।
कक्षा ४ मा पढ्ने विद्यार्थीलाई शिक्षिका सोना रानाले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि शिक्षामन्त्री सस्मिता पोखरेलले पीडित विद्यार्थी, विद्यालय सञ्चालक र प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल चलाइन्। मन्त्रीले विद्यार्थीसँग एकल भेट गरी घटनाबारे बुझ्दै खेलकुद सामग्री उपहार दिँदै पढाइ र खेलकुदमा निरन्तरता दिन हौसला दिइन्।
आवश्यक परे कानुनी कारबाहीका लागि मन्त्रालयले सघाउने प्रतिबद्धता मन्त्रीले जनाइन् भने घटनामा संलग्न शिक्षिकालाई परामर्श दिन र भविष्यमा शिक्षकहरूका लागि तालिम कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सुझाव दिइन्।
घटना गएको पुसमा भएको भए पनि पुनरावृत्ति रोक्न हालै छलफल गरिएको मन्त्रालयले जनाएको छ। बाग्लुङ घर भएका १३ वर्षीय विद्यार्थीलाई कुटेको दृश्य भिडियोमा रहेको छ।
यसैबीच शिक्षिका रानाले सार्वजनिक माफी माग्दै दोहोर्याइनँ भन्ने प्रतिबद्धता जनाएकी छिन्। प्रधानाध्यापक सुनिल रानाका अनुसार छानबिनपछि उनलाई गत जेठमै विद्यालयबाट हटाइसकिएको थियो। भिडियो खिचेर सार्वजनिक गर्ने शिक्षकलाई पनि गत वर्ष वैशाखमै अध्यापन असन्तोषजनक भएकाले निकालिएको थियो, र निष्कासनप्रतिको रिसका कारण नै भिडियो लिक भएको विद्यालयको दाबी छ।