खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट, अनुगमन थप प्रभावकारी हुने विश्वास

kathmandu-metropolitan-food-laboratory-launched

काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गर्दै यसले खाद्य निरीक्षण, गुणस्तर परीक्षण र उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउने बताइन्। महानगरका अनुसार प्रयोगशालाको सञ्चालनसँगै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न, खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गर्न तथा बजारमा बिक्री हुने खाद्य सामग्रीको गुणस्तर कायम गराउन उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले हालसम्म खाद्य अनुगमनका क्रममा संकलन गरिएका नमुनाको परीक्षण गर्न महानगरसँग आफ्नै प्रयोगशाला नहुँदा अन्य निकायमा निर्भर रहनुपर्ने अवस्था रहेको बताइन्। उनले नमुना परीक्षणमा लामो समय लाग्ने भएकाले अनुगमन प्रक्रिया ढिलो हुने, आवश्यक कानुनी कारबाही अघि बढाउन पनि कठिनाइ हुने गरेको उल्लेख गरिन्। विशेषगरी दण्ड तथा जरिवानाजस्ता कारबाही गर्न प्रयोगशाला परीक्षणको प्रतिवेदन आवश्यक पर्ने भएकाले आफ्नै संरचनाको अभावले काममा समस्या सिर्जना हुँदै आएको उनको भनाइ थियो।

उनले अब महानगरकै प्रयोगशाला सञ्चालनमा आएसँगै प्रारम्भिक चरणमै विभिन्न खाद्य नमुनाको परीक्षण स्थानीयस्तरमै गर्न सकिने र त्यसले अनुगमन कार्यलाई धेरै सहज बनाउने बताइन्। परीक्षणको नतिजा छिटो प्राप्त हुने भएकाले आवश्यक कारबाही पनि समयमै अघि बढाउन सकिने उनको विश्वास छ। यो प्रयोगशाला सुरुवाती चरण मात्र भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको क्षमता, उपकरण र परीक्षण सेवाको दायरा विस्तार गर्दै अझ आधुनिक बनाइने जानकारी दिइन्।

महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि खाद्य गुणस्तर परीक्षणलाई वैज्ञानिक र प्रमाणमा आधारित बनाउन सकिने विश्वास लिएको छ। यसले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्य सामग्री प्राप्त गर्ने वातावरण सिर्जना गर्ने र खाद्य व्यवसायीलाई गुणस्तर मापदण्ड पालना गर्न थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। महानगरका अनुसार खाद्य सुरक्षाको क्षेत्रमा यो प्रयोगशाला महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने र आगामी दिनमा यसको सेवालाई थप विस्तार गर्दै लैजाने योजना रहेको छ।