१ लाख रुपैयाँ चोरीको आरोपमा निशाको बेल्टले घाँटी कसी हत्या

kathmandu-guesthouse-murder-nisha-sunuwar-rs-1-lakh-theft

काठमाडौं । नयाँ बसपार्क स्थित एक गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्या प्रकरणमा प्रहरीले संलग्न आरोपीलाई पक्राउ गरेको छ।

२५ वर्षीया सुनुवार असार ३ गते गेस्टहाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार दैलेख घर भएका रमेश बुढालाई यस हत्या प्रकरणमा पक्राउ गरिएको हो। कैलालीको धनगढीमा घर भई माछापोखरीमा बसोबास गर्दै आएकी सुनुवारको हत्या गरी शव गेस्टहाउसको पलङभित्रै लुकाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार असार ३२ गते बसपार्क क्षेत्रबाट निशालाई गेस्टहाउसमा लगेर रमेशले आफ्नै कम्मर बेल्टले घाँटी कसी हत्या गरेका थिए। घटनाको एक दिन अघि निशाले रमेशसँग भएको १ लाख रुपैयाँ चोरेपछि यो घटना भएको प्रहरीले जनाएको छ।

अनुसन्धानअनुसार पोखराबाट दैलेख फर्किंदै गरेका रमेश असार ३१ गते बालाजुस्थित बसपार्कमा ओर्लेका थिए, जहाँ निशासँग भेट भएपछि उनी गेस्टहाउस पुगेका थिए। कोठाभित्र रमेश नुहाउन गएको मौका छोपी निशाले झोलाभित्रको १ लाख रुपैयाँ चोरेर हिँडेकी थिइन्।

भोलिपल्ट रमेशले निशालाई पुनः बसपार्क क्षेत्रमा भेटेपछि आफ्नो साथी दानबहादुर शाहीले बुक गरेको अर्को होटलको कोठामा लगेका थिए। त्यहीँ पैसाबारे विवाद हुँदा रमेशले निशाको घाँटी कम्मर बेल्टले कसी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि शव पलङभित्रै व्यवस्थापन गरी रमेश र उनका साथी दानबहादुर सोही कोठामा रातभर बसेका थिए। भोलिपल्ट उनीहरू त्यहाँबाट प्रस्थान गरे। साउन ३ गते कोठा सरसफाइ गर्ने क्रममा गन्ध आएपछि गेस्टहाउस स्टाफले प्रहरीलाई खबर गरेका थिए।

एसएसपी घिमिरेका अनुसार आरोपी रमेश बुढालाई महाराजगञ्जस्थित एक होटल नजिकैबाट पक्राउ गरिएको हो भने साथी दानबहादुरलाई नेपालगञ्जबाट पक्राउ गरी सोधपुछ गरिएको छ। हालसम्मको अनुसन्धानले हत्यामा रमेश बुढाको मात्रै संलग्नता देखाएको प्रहरीले जनाएको छ।