प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

kathmandu-faceless-traffic-cctv-enforcement-ssp-suresh-kafle

काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ। सीसीटिभी क्यामेराको प्रयोग गर्दै ट्राफिक निगरानी, प्रवाह विश्लेषण र नियम उल्लंघन गर्नेमाथि कारबाहीलाई तीव्र बनाइँदै ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिँदैछ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेका अनुसार हाल हुने कुल ट्राफिक कारबाहीमध्ये ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीकै आधारमा भइरहेको छ। यसले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र विवादरहित बनाएको उनले बताए।

काफ्लेका अनुसार ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व संकलन नभई सडक नियमको प्रभावकारी कार्यान्वयनमार्फत दुर्घटना घटाउनु हो। कार्यदिनमा औसत दुई हजारभन्दा बढी चालक कारबाहीमा पर्ने गरेको उनले जनाए। नेपालमा दैनिक औसत सात–आठ जनाको सडक दुर्घटनामा मृत्यु र करिब २० जना गम्भीर घाइते हुने गरेको तथ्यांक उनले सुनाए।

तीव्र गति, लेन अनुशासनको उल्लंघन, निषेधित स्थानमा यू–टर्न र ट्राफिक बत्ती उल्लंघन दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाइ छ। सर्वसाधारणले टोल–फ्री नम्बर १०३ मार्फत वा फेसबुक पेज तथा वेबसाइटबाट उजुरी दर्ता गर्न सक्ने उनले जानकारी दिए।