कर्णालीका हिमाली जिल्लामा वर्षा र हिमपातको जोखिम, सतर्क रहन प्रशासनको आग्रह

karnali-rainfall-snowfall-alert

सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावका कारण कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म मौसम प्रभावित हुन सक्ने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा बंगालको खाडीमा रहेको अर्नव चक्रवात थप शक्तिशाली हुन सक्ने उल्लेख छ। यसको प्रभाव बिहीबार रातिदेखि देखिन सक्ने अनुमान गरिएको छ।

कर्णाली प्रदेशका विभिन्न स्थानसहित हुम्लाका केही क्षेत्रमा हावाहुरीसँगै मध्यम वर्षा हुन सक्ने जनाइएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने तथा शुक्रबार र शनिबार देशका अन्य भागमा समेत मौसमको प्रभाव देखिन सक्ने पूर्वानुमान गरिएको छ।

हुम्लामा बाली सुरक्षित राख्न प्रशासनको आग्रह

सम्भावित वर्षा र हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न हुम्ला जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठकले कात्तिक १२, १३ र १४ गते जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात तथा तल्लो भेगमा वर्षा हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको हो।

प्रशासनले धानलगायतका खडा बाली काट्ने, भित्र्याउने र सुरक्षित रूपमा भण्डारण गर्ने काम कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ। वर्षाका कारण पाकेको बालीमा क्षति पुग्न सक्ने भएकाले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको छ।

त्यस्तै, पर्यटक, तीर्थयात्री र पदयात्रामा जाने व्यक्तिलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा पुगिसकेका व्यक्तिलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

उच्च चरन क्षेत्रमा रहेका पशुचौपाया, गोठाला तथा जडीबुटी सङ्कलनमा गएका व्यक्तिलाई पनि जोखिमबाट बच्न सुरक्षित स्थानमा सर्न प्रशासनले अनुरोध गरेको छ।

डोल्पामा हिमआँधी र हिमपहिरोको जोखिम

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ठकुल्लाले पनि सूचना जारी गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भन्दै सर्वसाधारण तथा पर्यटकलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जोखिमको अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका जोखिमयुक्त र निषेधित स्थानमा पदयात्रा नगर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। जोखिमयुक्त क्षेत्रमा पदयात्राका लागि अनुमति नलिन र अनुमति जारी भइसकेको भए पनि सूचनामा उल्लेखित जोखिमलाई ध्यानमा राखेर यात्रा नगर्न आग्रह गरिएको छ।

ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलाई पनि प्रशासनको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

यात्रा गर्नुअघि मौसमको जानकारी लिन आग्रह

सम्भावित वर्षाले पहिरो, बाढी, लेदो तथा गेग्रान बहावको जोखिम बढाउन सक्ने भएकाले पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

सम्बन्धित निकायले मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र आवश्यक अवस्थामा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

मौसम प्रतिकूल हुने अवधिमा अनावश्यक यात्रा नगर्नु, कृषि उपज सुरक्षित राख्नु तथा उच्च हिमाली क्षेत्रमा रहेका मानिस र पशुचौपायाको सुरक्षामा ध्यान दिनु आवश्यक छ।