सिक्री लुटपाट र मोटरसाइकल चोरी गिरोह ‘कर्मा समूह’का नाइकेसहित ५ पक्राउ

karma-group-chain-snatching-motorcycle-theft-arrest

काठमाडौं उपत्यकामा लगातार भइरहेका सुनका सिक्री तथा गरगहना लुटपाटका घटनामा प्रहरीले ‘कर्मा समूह’ नामक गिरोहका नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाट कार्यक्रम गरी यो जानकारी दिएको हो। उपत्यकाभर विभिन्न मिति र समयमा भएका चेन स्न्याचिङका घटनाहरूको अनुसन्धान गर्दा आपराधिक पृष्ठभूमि भएको यो समूह सक्रिय रहेको फेला परेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार यो समूहले विशेषगरी महिला र वृद्धावृद्धालाई लक्षित गर्दै लुटपाट गर्ने गर्थ्यो। प्रतिकार गर्न खोज्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउने गरेको अनुसन्धानले देखाएको छ।

विगतका गुण्डागर्दी र लुटपाटसम्बन्धी घटनाहरूको विश्लेषणका आधारमा प्रहरीले गिरोहका सदस्यहरूको पहिचान गरी खोजी थालेको थियो। कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटमा प्रत्यक्ष संलग्न रहेको आरोपमा चार जनालाई गत साउन १५ गते काभ्रेको बनेपाबाट पक्राउ गरिएको थियो।

समूहका नाइके, सिन्धुपाल्चोकको मेलम्ची–४ घर भई बौद्धमा बसोबास गर्ने ३४ वर्षीय कर्मा तामाङलाई साउन १६ गते राति बूढानीलकण्ठ–१३, चुनिखेलबाट नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्दा तामाङले खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेको र भाग्न खोज्दा प्रहरीले घुँडामुनि गोली हानी नियन्त्रणमा लिएको जनाइएको छ। घाइते तामाङलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत राखिएको छ।

घटनास्थलबाट प्रहरीले मोटरसाइकल, खुकुरी, पाँच थान नम्बर प्लेट र मोटरसाइकल चोरीमा प्रयोग हुने ती-लक तथा मास्टर की बरामद गरेको छ। प्रहरीका अनुसार यो समूहले २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट बदल्दै लुटपाटमा प्रयोग गर्ने र पछि स्वरूप परिवर्तन गरी उपत्यका बाहिर बिक्री गर्ने गर्दथ्यो।