करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबु साह कानुलाई १० लाखको बम्पर उपहार

karadata-protsahan-upahar-lalbabu-sah-kanu

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले पाएका छन्। उनलाई १० लाख रुपैयाँको बम्पर उपहार परेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्।

नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका हुन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

उपहारमा छनोट भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई फोनमार्फत बधाई दिएका थिए। उनले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि योग्य थिए।

त्यसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार उपहारका लागि योग्य थिए। यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार कार्यक्रममा सहभागी भएका थिए।

असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताहरूको कुपनसमेत सार्वजनिक गरिएको छ।