कंगनाको बाबा रामदेवलाई कडा जवाफ : ‘मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्’
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा)की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमार्फत विवाद चर्किएको छ। आफ्ना पछिल्ला अभिव्यक्तिमाथि रामदेवले गरेको टिप्पणीको जवाफ दिँदै कंगनाले उनलाई व्यक्तिगत विषयमा टिप्पणी नगर्न चेतावनी दिएकी हुन्।
विवादको सुरुवात कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेर गरेको टिप्पणीबाट भएको थियो। पछि उनले आफ्नो भनाइ सबै युवाप्रति लक्षित नभएको स्पष्ट पार्दै आफूलाई ‘कक्रोच’ भनेर सम्बोधन गर्ने केही व्यक्तिमाथि मात्रै उक्त टिप्पणी केन्द्रित रहेको बताएकी थिइन्।
कंगनाको यही अभिव्यक्तिबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बाबा रामदेवले उनको विगत र युवावस्थासम्बन्धी प्रश्न उठाएका थिए।
रामदेवको उक्त टिप्पणीसम्बन्धी समाचारको स्क्रिनसट इन्स्टाग्राममा साझा गर्दै कंगनाले कडा प्रतिक्रिया जनाएकी हुन्। उनले रामदेवलाई आफ्नो व्यक्तिगत जीवन र बेडरुमसम्बन्धी कल्पना नगर्न आग्रह गर्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउनु उचित नभएको बताएकी छन्।
कंगनाले आफ्नो प्रतिक्रियामा रामदेवको विगतसँग जोडिएका विवादतर्फ समेत संकेत गरेकी छन्। विशेषगरी पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतमा रामदेव र आचार्य बालकृष्णले माफी मागेको प्रसंगलाई उनले उल्लेख गरेकी हुन्।
उक्त मुद्दामा पतञ्जलिका विज्ञापनमा औषधीय प्रभावकारितासम्बन्धी दाबी तथा आधुनिक चिकित्साप्रति गरिएका केही टिप्पणीलाई लिएर विवाद भएको थियो। रामदेव र बालकृष्णले अदालतसमक्ष भविष्यमा यस्ता विषय दोहोरिन नदिने प्रतिबद्धता जनाएका थिए।
कंगना र रामदेवबीचको पछिल्लो सार्वजनिक विवाद अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।