पुँजी बजारलाई उत्पादन र रोजगारीका लागि दीर्घकालीन पुँजी परिचालनको माध्यम बनाउनुपर्छ : अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबार गर्ने माध्यमका रूपमा सीमित नराखी उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ प्रणालीमा मात्र निर्भर रहेको नेपालको अर्थतन्त्रलाई क्रमशः ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अग्रवालले निजी क्षेत्रलाई उत्पादन तथा रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्ने बताए । उनका अनुसार पुँजी बजारलाई केवल सेयर र धितोपत्रको किनबेच हुने क्षेत्रका रूपमा हेर्नुभन्दा मुलुकको आर्थिक विकासका लागि आवश्यक दीर्घकालीन लगानी जुटाउने संरचनाका रूपमा विकास गर्न आवश्यक छ ।
अग्रवालले नेपालको पुँजी बजारमा विगतमा दूरदर्शी नीतिको अभावका कारण सट्टेबाजी कारोबारले प्रश्रय पाएको बताएका छन् । विशेषगरी बैंक तथा वित्तीय संस्थाका सेयरमा रहेको डबल आईएसआईएन व्यवस्थाले एउटै कम्पनीको एउटै सेयरमा मूल्यको ठूलो अन्तर सिर्जना गरेको उनले उल्लेख गरे । एउटै सेयर र प्रतिफल समान भए पनि डबल प्राइसिङका कारण एउटै सेयरको मूल्यमा ५० प्रतिशतसम्म फरक देखिएको र यसले लगानीकर्तामा भ्रम तथा अविश्वास सिर्जना गर्नुका साथै वास्तविक बजार मूल्य निर्धारणमा अन्योल बढाएको उनको भनाइ छ ।
डबल आईएसआईएन हटाउने प्रयास विगतमा नेपाल राष्ट्र बैंकबाट भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामा पर्न सक्ने देखिएपछि उक्त व्यवस्था कार्यान्वयन हुन नसकेको अग्रवालले बताए । उनका अनुसार नीतिगत व्यवस्थाका कारण एउटै कम्पनीको सेयरलाई फरक मूल्यमा कारोबार गर्नुपर्ने अवस्थाले बजारको पारदर्शिता र वास्तविक मूल्य निर्धारणमा प्रश्न उठाएको थियो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पुँजी बजारलाई ‘जुवाघर जस्तो बनाउनु हुँदैन’ भनेको प्रसंगसमेत उल्लेख गर्दै अग्रवालले एउटै सेयरलाई नीतिगत हस्तक्षेपका कारण वास्तविक प्रतिफलमा आधारित मूल्य र सट्टेबाजी मूल्यमा विभाजन गर्न नहुने धारणा राखे । पुँजी बजारमा स्वस्थ लगानीको वातावरण निर्माण गर्न सेयरको मूल्य कम्पनीको वास्तविक अवस्था र भविष्यमा प्राप्त हुन सक्ने प्रतिफलसँग जोडिनुपर्ने उनको भनाइ छ ।
नेपाल धितोपत्र बोर्ड अर्थात् सेबोनले एउटै आईएसआईएन नम्बरको नीतिगत व्यवस्था अघि बढाउने तयारी गरेकोप्रति अग्रवालले स्वागत गरेका छन् । एउटै आईएसआईएनको व्यवस्थाले आगामी दिनमा नेपालको पुँजी बजारलाई स्वस्थ, पारदर्शी र वास्तविक मूल्यमा आधारित बनाउन सहयोग पुग्ने उनको विश्वास छ । यसले लगानीकर्तामा रहेको अन्योल कम गर्नुका साथै सेयरको वास्तविक बजार मूल्य निर्धारणमा समेत सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ ।
अग्रवालले कम्पनीको व्यवस्थापन क्षमता, दीर्घकालीन व्यावसायिक योजना र भविष्यमा प्राप्त हुन सक्ने प्रतिफलका आधारमा सेयरको मूल्य निर्धारण हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार पुँजी बजारलाई दीर्घकालीन लगानी र पुँजी परिचालनको प्रभावकारी माध्यम बनाउन सके निजी क्षेत्रले उत्पादन विस्तार, पूर्वाधार विकास र रोजगारी सिर्जनाका लागि आवश्यक स्रोत जुटाउन सहज हुनेछ । यसबाट बैंकिङ प्रणालीमाथिको अत्यधिक निर्भरता घटाउँदै बजारमा आधारित वित्तीय प्रणालीको विकास गर्न सकिने र नेपालको समग्र आर्थिक वृद्धिमा पुँजी बजारको योगदान बढाउन सकिनेछ ।