जयवीर देउवा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा, सात दिने पुर्जी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन थालेको छ। विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको छ। शंकास्पद तवरले सम्पत्ति आर्जन गरी विभिन्न व्यवसायमा लगानी गरेको आरोपमा विभागले लामो समयदेखि गोप्य अनुसन्धान चलाइरहेको थियो।
सूचना अनुसार डडेलधुरा स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठमा बसोबास गर्ने ३१ वर्षीय जयवीरलाई मनी लाउन्डरिङ निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम पुल्चोकस्थित विभागीय कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ। उनको नाममा रहेका व्यावसायिक कम्पनी र लगानीको स्रोत खुल्न नसकेपछि विभागले निगरानी बढाएको थियो। विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक सम्बन्धका कारण पनि छानबिनको दायरा फराकिलो भएको जनाइएको छ। भट्ट र उनका साझेदार सुलभ अग्रवाल हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।
जयवीर विदेशमा रहेको र सम्पर्कमा नआएकाले विभागले सार्वजनिक सूचना जारी गर्नुपरेको हो। तोकिएको समयभित्र उपस्थित नभएमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने विभागले जनाएको छ।