जलबिरेमा तीन सवारी ठोक्किँदा २६ घाइते, मुग्लिङ–नारायणगढ सडक पुनः खुल्यो

jalbire-vehicle-collision-26-injured-mugling-narayangadh-road

मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटनाका कारण अवरुद्ध भएको सडकखण्डबाट सवारीसाधन हटाई दुवैतर्फी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो साँझ १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाएको थियो । आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक फेरि अवरुद्ध भएको थियो ।