‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक, मंसिरमा सिनेमा प्रदर्शन

jalaki-first-song-chandi-jalap-released

काठमाडौं । निर्देशक अशोक थापा मगरको नयाँ चलचित्र ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टोलीले शुक्रबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड देखिएका छन् ।

गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ भने शब्द सुरेन्द्र रानाको हो । संगीत एसडी योगीले तथा संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । कोरियोग्राफी सुरेन्द्र राईले गरेका छन् भने शेखर घर्ती मगर र सुशन तामाङ सहायक कोरियोग्राफरका रूपमा जोडिएका छन् ।

‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको यो दोस्रो चलचित्र हो, जुन आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । यसअघि नै निर्माण टोलीले प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरिसकेको थियो । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् भने छायांकन शैलेन्द्र डी. कार्कीले गरेका छन् ।

चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनसहित विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिने छन् । बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन् । मिस सिक्किम साहारा हाङमा लिम्बूले यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा पदार्पण गरेकी छन् ।

चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

निर्देशक थापा मगरको अघिल्लो चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो, र त्यसको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो । ‘खुस्मा’को सफलतापछि ‘जलाकी’ले पनि दर्शक तान्ने निर्माण टोलीको विश्वास रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् ।