प्रतिनिधिसभा बैठक स्थगित, अब साउन १४ गते मात्र बैठक
0 MIN READ
प्रतिनिधिसभाको बैठक आगामी दुई साताका लागि स्थगित हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको सहमति अनुसार अब साउन १४ गते मात्र अर्को बैठक बस्नेछ, जसको जानकारी सभामुखले सदनमा नै गराउने बताइएको छ ।
आज बिहान ११ बजे हुने तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नका लागि दिउँसो १ बजेसम्म सारिएको थियो । आजको बैठकमा कानुन मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औं वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही कानुन संशोधन तथा खारेज गर्ने विधेयकमाथि छलफल अगाडि बढाउने प्रस्ताव राख्नेछन् । श्रममन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका बाध्यकारी श्रम महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि सदनमा छलफल गराई आजै अनुमोदन गराउने तयारी गरेका छन् ।