गृहमन्त्री गुरुङ र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न, हिन्दू राष्ट्रको मुद्दा केन्द्रमा
गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघसंस्थाका प्रतिनिधिहरूबीच शनिबार जनकपुरधाममा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। लगभग तीन घण्टा चलेको यो वार्तामा गृहमन्त्री गुरुङका अतिरिक्त रास्वपाका सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल र सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए।
वार्ता सकिएपछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनका मागहरूलाई गम्भीरतापूर्वक सुनेको बताए, तर सबै माग तत्काल पूरा गर्न नसकिने अवस्था रहेको स्पष्ट पारे। उनले भने जायज देखिएका मागहरू तुरुन्तै सम्बोधन गरिने प्रतिबद्धता जनाए। वार्तामा सहभागी विश्व हिन्दू परिषद नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दू राष्ट्र स्थापनाको माग प्रति आफूहरू अडिग रहेको दोहोर्याए। उनका अनुसार गृहमन्त्रीले यो विषयमा तत्काल निर्णय गर्न नसकिने भए पनि केन्द्रीय छलफलको विषय बनाई अगाडि बढाउने आश्वासन दिएका छन्।
अन्य मागहरूप्रति गृहमन्त्रीको धारणा सकारात्मक रहेको समेत रमनले जनाए। एक घण्टाको ब्रेकपछि सोही दिन दोस्रो चरणको वार्ता बस्ने तय भएको छ।