हरिशयनी एकादशी : तुलसी रोपाइँ, व्रत र विवाहको धार्मिक महत्व
हरिशयनी एकादशी हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । यसै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने धार्मिक विश्वास रहेको छ । यही अवसरमा घर-घरमा तुलसी रोप्ने र त्यसको नियमित पूजा-आराधना गर्ने परम्परा रहिआएको छ ।
यो परम्परा केवल तुलसीको पूजा मात्र नभई प्रकृतिप्रतिको सम्मान र संरक्षणसँग पनि जोडिएको छ । धार्मिक मान्यताअनुसार भगवान विष्णु योगनिद्रामा रहँदा उनको दिव्य शक्ति तुलसीमा आविर्भाव हुने विश्वास गरिन्छ । हरिशयनी एकादशीमा रोपिएको तुलसीको चातुर्मासभर श्रद्धापूर्वक पूजा गरिन्छ भने हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने विश्वासका साथ तुलसी विवाह सम्पन्न गर्ने शास्त्रीय परम्परा रहेको छ ।
उपप्राध्यापक डा. नारायण प्रसाद निरौलाले शास्त्रले निर्देश गरेका विधि, कर्म र आचारलाई श्रद्धापूर्वक पालन गर्नु नै धार्मिक परम्पराको मूल आधार रहेको बताए । उनका अनुसार आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ, र यस वर्ष यो पर्व साउन महिनामा पर्नुको कारण चन्द्रमास र सौरमासबीचको अन्तर तथा अधिकमास नै रहेको उनले बताए ।
उनका अनुसार चन्द्रमास र सौरमासमा थोरै अन्तर रहन्छ, र यस वर्ष जेठमा एक अतिरिक्त चन्द्रमास थपिँदा अधिकमास परेको हो । त्यही कारणले यस वर्षको तुलसी रोप्ने दिन साउनमा पर्न गएको र आगामी वर्ष भने यो पर्व पुनः असार महिनामै पर्ने उनले स्पष्ट पारे ।
निरौलाका अनुसार हरिशयनी भनेको साक्षात विष्णुहरि भगवान शयन कक्षमा जानु हो, किनभने यो देवताको रात हुने समय मानिन्छ । हाम्रो एक वर्षमा देवताको एक दिन-रात हुन्छ भन्ने मान्यताअनुसार श्रावणबाट देवताको रात आरम्भ हुन्छ, त्यसैले यस समयमा भगवान शयन गर्नुहुने विश्वास रहेको छ ।
हरिशयनी एकादशीदेखि हरिवोधिनी एकादशीसम्मको चार महिनालाई भगवान विष्णुको योगनिद्राको अवधि मानिने धार्मिक विश्वास रहेको निरौलाले बताए । यही अवधिमा तुलसी रोपिन्छ र त्यसपछि नियमित आराधना गरिन्छ । हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने मान्यता रहेकाले यही दिन तुलसी विवाह गर्ने शास्त्रीय व्यवस्था रहेको उनले उल्लेख गरे ।
तुलसीलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ । हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेशलाई क्रमशः सृष्टि, पालन र संहारका देवताका रूपमा स्वीकार गरिने भएकाले तुलसी र भगवान विष्णुबीच गहिरो धार्मिक सम्बन्ध रहेको निरौलाको भनाइ छ ।
प्रत्येक एकादशीको आ-आफ्नै धार्मिक महत्व रहेको बताउँदै उनले कामिका एकादशीलाई मनोकामना पूरा हुने विश्वाससँग जोडिएको उल्लेख गरे । हरिशयनीदेखि हरिवोधिनीसम्मको अवधि चतुर्मासका रूपमा विशेष मानिने र यस अवधिमा व्रत, पूजा तथा भगवान विष्णुको आराधना गर्दा विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए । सबै एकादशीको धार्मिक महत्व समान रहे पनि यी दुई एकादशीलाई हिन्दू शास्त्रमा विशेष पर्वका रूपमा वर्णन गरिएको छ ।