ललितपुरको ग्वार्कोमा बस दुर्घटना: १ जनाको मृत्यु, १९ घाइते
ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको पर्खालमा यात्रुवाहक बस ठोक्किएर भीषण दुर्घटना भएको छ। बिहीबार (साउन २१) बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्को/सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको मध्यपुर यातायातको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


दुर्घटनामा गम्भीर घाइते भएकी दोलखाको शैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको छ।
घाइते १९ जनाको ग्वार्कोस्थित बीएण्डबी अस्पताल र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमा ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, कञ्चनपुर, महोत्तरी, सिन्धुपाल्चोक र भारतका नागरिकसमेत रहेका छन्।
प्रहरीले बस चालक काभ्रेको तेमाल (तिमाल) गाउँपालिका-३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्ष्मी (लक्षी) तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा चल्दा चालकले नियन्त्रण गुमाएको देखिएको छ।
👇 घाइतेहरूको नामावली र विस्तृत विवरण:
बीएण्डबी अस्पतालमा उपचाररत:
- रामेछाप घर भई भक्तपुर सूर्यविनायक बस्ने २३ वर्षीया सुन्निमा योन्जन (गम्भीर, शरीरको भित्री भागमा चोट)
- कञ्चनपुर घर भई भक्तपुर बस्ने २४ वर्षीय तुल्सी धानुक (सामान्य)
- भक्तपुर बस्ने ४० वर्षीया कविता कार्की (टाउकोमा चोट)
- दोलखा शैलुङ घर भई भक्तपुर सूर्यविनायक बस्ने ४० वर्षीया जेनिशा लामा (मृत्यु)
- सिन्धुली मरिन-३ घर भई भक्तपुर बस्ने ३३ वर्षीय धनकुमार ढोङ (बायाँ खुट्टामा सामान्य चोट)
- भक्तपुर ठिमी-६ बस्ने ३७ वर्षीया लक्ष्मी श्रेष्ठ (बायाँ हात र कम्मरमा सामान्य चोट)
- भक्तपुर चाँगुनारायण सरस्वतीखेल बस्ने २४ वर्षीया रशिला दुलाल (कम्मरमा सामान्य चोट)
- भक्तपुर सरस्वतीखेल बस्ने ६० वर्षीय कृष्णराम थापा (सह-चालक, बायाँ खुट्टा फ्र्याक्चर, गम्भीर)
- काभ्रे बनेपा-१४ घर भई भक्तपुर सरस्वतीखेल बस्ने ४१ वर्षीया अमृता कार्की (दायाँ हातको पाखुरा र कम्मरमा सामान्य चोट)
- ललितपुर महालक्ष्मी-५ बस्ने ४० वर्षीया कबिता के.सी. (टाउकोमा सामान्य चोट)
ग्लोबल अस्पतालमा उपचाररत:
भारत घर भई भक्तपुर कौशलतार बस्ने ४५ वर्षीय मोहम्मद समिम
दोलखा घर भई भक्तपुर सूर्यविनायक बस्ने २४ वर्षीय बिबेक दाहाल
सिन्धुली घर भई भक्तपुर सूर्यविनायक बस्ने १९ वर्षीया भगवती खत्री
भक्तपुर मिलनचोक बस्ने ४७ वर्षीया भगवती खत्री
भक्तपुर बस्ने २८ वर्षीया जुनु सिल्पकार
ललितपुर महालक्ष्मीस्थान बस्ने ४९ वर्षीया तुल्सी देवी खड्का
महोत्तरी घर भई भक्तपुर गठ्ठाघर बस्ने २१ वर्षीया अन्जु साह
काठमाडौं ठमेल घर भई सूर्यविनायक बस्ने २७ वर्षीय आशुतोष श्रेष्ठ
सिन्धुपाल्चोक घर भई ललितपुर भैसीपाटी बस्ने ३६ वर्षीया स्तर देउजा