बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सम्पदा संरक्षण र स्थानीय लाभमा जोड
लुम्बिनीको ऐतिहासिक, पुरातात्विक तथा आध्यात्मिक पवित्रता जोगाउँदै स्थानीय समुदायलाई विकासको आर्थिक लाभ पुर्याउने गरी बृहत्तर लुम्बिनी क्षेत्रको विकास अघि बढाउने रणनीति तय गरिँदैछ। लुम्बिनीको दिगो विकास, सम्पदा संरक्षण र पर्यटन विस्तारलाई एकीकृत गर्ने उद्देश्यले शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो। सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गणेश’ले लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानव जातिको साझा धरोहर भएकाले यसको मौलिकता, पवित्रता र आध्यात्मिक मूल्य जोगाएर विकास गर्नुपर्ने बताए।
सम्मेलनमा विश्व बैंक, युनेस्को, लुम्बिनी विकास कोष, बौद्ध विश्वविद्यालय, सरकार तथा विभिन्न विकास साझेदारका प्रतिनिधिले सम्पदा संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने विषयमा छलफल गरिरहेका छन्। नेपाल सरकार र विश्व बैंकबीच बृहत्तर लुम्बिनी क्षेत्रका लागि भएको ८५ मिलियन अमेरिकी डलर बराबरको ‘ग्ल्याड’ परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीति पनि छलफलको विषय बनेको छ। परियोजनामार्फत सम्पदा संरक्षणलाई स्थानीय रोजगारी, पर्यटन तथा आर्थिक अवसरसँग जोड्ने लक्ष्य राखिएको छ। सम्मेलनमा १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको प्रत्यक्ष सहभागिता छ भने अनलाइनमार्फत थप १०० भन्दा बढी सहभागी जोडिएका छन्।
तीन दिनसम्म चल्ने सम्मेलनबाट सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार, सेवा सुदृढीकरण र समावेशी स्थानीय आर्थिक विकाससम्बन्धी कार्ययोजना तयार गरिनेछ। सम्मेलनको अन्त्यमा जारी हुने साझा घोषणापत्रले लुम्बिनीको भावी विकास, पर्यटन प्रवद्र्धन, सम्पदा संरक्षण र स्थानीय आर्थिक विकासका लागि मार्गदर्शन तय गर्ने आयोजकले जनाएको छ।