गैरकानूनी व्यापारविरुद्ध सरकारको कडा चेतावनी, दोषीलाई कानुनी कारबाही गरिने

government-warns-crackdown-unlabeled-substandard-goods

काठमाडौं । बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावट गरिएका तथा अवैध रूपमा भित्र्याइएका वस्तुको बिक्री वितरण बढिरहेको भन्दै सरकारले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३–८४ जारी गर्दै गैरकानूनी व्यापार रोक्न कानुनी प्रक्रिया कडाइका साथ लागू गरिने जनाएको हो।

विभागका अनुसार भौतिक बजारसँगै अनलाइन माध्यमबाट पनि दैनिक उपभोग्य खाद्य सामग्री, पेय पदार्थ तथा लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासो बढ्दै गएको छ। यस विषयलाई मन्त्रालय र विभागले गम्भीर रूपमा लिँदै बजारलाई व्यवस्थित बनाउन निगरानी र अनुगमनलाई प्रभावकारी बनाइने जनाएको छ।

सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मिसावट, चोरी पैठारी तथा कम गुणस्तरका वस्तुको कारोबार कानुनविपरीत र दण्डनीय अपराध भएको स्पष्ट पारिएको छ।

विभागले उत्पादन, आयात, ढुवानी, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई प्रचलित कानुनले निर्धारण गरेका मापदण्ड, सर्त र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

साथै, बजार अनुगमनलाई अझ सशक्त बनाइने जनाउँदै उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि असर पर्ने कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न व्यक्ति वा व्यवसायीलाई कानुनअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी विभागले दिएको छ।