१०० अर्ब डलर अर्थतन्त्र निर्माण र १२ लाख रोजगारी सिर्जनामा सरकार केन्द्रित
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाएको बताएकी छन्।
राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उनले उद्योग, लगानी, व्यापार र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेर स्वदेशी उत्पादन र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन भइरहेको जानकारी दिइन्। स्टार्टअप उद्यम कार्यक्रमअन्तर्गत सयौं परियोजनालाई बिना धितो सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरिएको उल्लेख गर्दै आगामी वर्ष नेसनल इन्टरप्राइजेज फेसिलिटी कार्यक्रममार्फत लघु, घरेलु तथा साना उद्योगलाई थप सहयोग गरिने बताइन्।
सरकारले लगानी संरक्षण रणनीति कार्यान्वयन, रुग्ण उद्योग पुनः सञ्चालन, चिया, अलैँची, अदुवा, छुरपी र गलैँचाजस्ता वस्तुको निर्यात विस्तार तथा व्यापार घाटा न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेको जानकारी दिँदै औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना र रोजगारी सिर्जनालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।