जनअपेक्षा अनुसार सरकार चलेन : प्रचण्ड
काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीमाथि तीखो प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार बनेको केही समय बितिसक्दा पनि जनताले राखेको अपेक्षा पूरा हुन नसकेको धारणा राखे ।
प्रचण्डका अनुसार सरकारका पछिल्ला गतिविधिहरू जनचाहना विपरीत देखिएका छन् र यसले सकारात्मकभन्दा नकारात्मक दृष्टान्त बढी दिइरहेको छ, जसले मुलुकको राजनीतिलाई अझ पेचिलो बनाउने खतरा रहेको उनले औँल्याए ।
उनले सुकुमबासी, ट्रेड युनियन र विद्यार्थी सरोकारसँग जोडिएका समस्या समाधानमा सरकारले चासो नदेखाएको आरोप लगाउँदै भौगोलिक सीमा सुरक्षा र राष्ट्रिय स्वार्थसम्बन्धी विषयमा पनि ठोस कदम नचालिएको बताए । राष्ट्रियता र जनजीविकासँग सम्बन्धित सवालमा सरकारको प्रस्तुति कमजोर रहेको उनको भनाइ थियो ।
लगानी, उत्पादन, रोजगारी, राजस्व सङ्कलन लगायत समग्र विकासका क्षेत्र लगभग अवरुद्ध जस्तै रहेको बताउँदै प्रचण्डले जनतामा गहिरिँदो निराशाप्रति चिन्ता व्यक्त गरे । नयाँ व्यवस्थाले पुरानो व्यवस्थाभन्दा पनि खराब नतिजा दिने हो कि भन्ने त्रास जनतामा बढिरहेको उनले बताए ।
संविधान संशोधनको विषयमा सरकारको नियतमाथि शङ्का व्यक्त गर्दै उनले लामो सङ्घर्ष र बलिदानबाट हासिल गरिएका उपलब्धिहरूलाई कमजोर वा पुनर्लेखन गर्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का पोखे ।
माइतीघर मण्डलामा निरन्तर भइरहेका विरोध प्रदर्शनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव थियो, र सडकमा देखिएको जनआक्रोशले मुलुकभित्र गहिरो समस्या रहेको संकेत गर्ने उनले जोड दिए । यही अवस्था निरन्तर रहे नेपाल असफल राष्ट्रको बाटोतर्फ धकेलिने जोखिम रहेको भन्दै उनले सरकारलाई सचेत हुन आग्रह गरे ।