गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा भए पनि प्राथमिकता अझै स्पष्ट छैन
काठमाडौं । लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग पुनः सञ्चालन गर्ने सरकारी योजनाअन्तर्गत गोरखकाली रबर उद्योगलाई पनि पुनर्जीवन दिने तयारी अघि बढेको छ। करिब १२ वर्षदेखि बन्द रहेको उद्योग सञ्चालनमा आए स्वदेशमै टायर तथा रबरजन्य सामग्री उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
तर उद्योग पुनः सञ्चालनका लागि आवश्यक लगानी, व्यवस्थापन, प्रविधि, बजार, उत्पादन लागत र सञ्चालन मोडेलबारे अझै ठोस निर्णय भइसकेको छैन।
सरकारले केही समयअघि लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ। सोही क्रममा अन्य बन्द सार्वजनिक उद्योगको अवस्थाबारे पनि अध्ययन भइरहेको छ।
हालै प्रतिनिधिसभा सदस्य तथा अर्थ र उद्योग मन्त्रालयका प्रतिनिधिसहितको टोलीले गोरखकाली रबर उद्योगको स्थलगत निरीक्षण गरेको थियो। टोलीले उद्योगको भौतिक अवस्था, पूर्वाधार, आवश्यक लगानी तथा पुनः सञ्चालनको सम्भावनाबारे जानकारी लिएको थियो।
उद्योग मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सरकारले गोरखकाली रबर उद्योग सञ्चालनको तयारी अघि बढाए पनि कहिलेबाट सञ्चालन गर्ने र कुन मोडेल अपनाउने भन्ने विषय अझै टुंगिएको छैन।
उनका अनुसार उद्योगको सम्पत्ति र दायित्वको अवस्था मूल्यांकन गर्न गरिएको ड्यु डिलिजेन्स अडिट (डीडीए) सम्पन्न भइसकेको छ। विज्ञहरूले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइएको छ।
उद्योग मन्त्रालयले पनि उद्योगको अवस्था र सम्भावित सञ्चालन मोडेलबारे अध्ययन गर्न छुट्टै समिति गठन गरेको छ। समितिले उद्योग परिसरको स्थलगत निरीक्षणसमेत गरिसकेको छ।
सुवेदीका अनुसार डीडीए प्रतिवेदन प्राप्त भए पनि त्यसकै आधारमा तत्काल उद्योग सञ्चालन गर्ने निर्णय भने भएको छैन। उद्योगको सम्पत्ति, दायित्व, लगानी आवश्यकता र भविष्यको व्यावसायिक सम्भावनाबारे थप अध्ययन आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
विशेषगरी उद्योगको विगतको दायित्व ठूलो भए त्यसलाई व्यवस्थापन गर्दै पुनः सञ्चालन गर्न थप आर्थिक भार पर्न सक्ने भएकाले सरकारले सञ्चालन मोडेलबारे सावधानीपूर्वक निर्णय गर्नुपर्ने देखिएको छ।
सरकारले उद्योगलाई पूर्ण सरकारी लगानीमा सञ्चालन गर्ने, निजी क्षेत्रलाई सहभागी गराउने वा अन्य कुनै साझेदारी मोडेल अपनाउने भन्ने विषयमा अहिलेसम्म अन्तिम निर्णय गरेको छैन। निजी क्षेत्र उद्योग सञ्चालनमा इच्छुक हुन्छ कि हुँदैन भन्ने विषय पनि अध्ययनकै क्रममा छ।
गोरखकाली रबर उद्योग विगतमा निजीकरणपछि उत्पादन बन्द भएको थियो। नयाँ सरकार गठनसँगै लामो समयदेखि बन्द सार्वजनिक उद्योगलाई पुनर्जीवन दिने योजनामा यस उद्योगलाई पनि समेटिएको मन्त्रालयले जनाएको छ।
तर उद्योग मन्त्रालयको चालु बजेटमा गोरखकाली रबर उद्योग सञ्चालनका लागि छुट्टै रकम विनियोजन गरिएको छैन। सरकारी लगानीसम्बन्धी निर्णयमा अर्थ मन्त्रालयको भूमिका रहने भएकाले अर्थबाट लगानीको विषय स्पष्ट नभएसम्म उद्योग मन्त्रालयले एक्लै सञ्चालनको घोषणा गर्न नसक्ने प्रवक्ता सुवेदीले बताए।
उद्योगको विगतको उत्पादन क्षमता, बजार सम्भावना, सम्पत्ति तथा दायित्वको अवस्था र आवश्यक लगानीलाई आधार बनाएर आगामी सञ्चालन मोडेल तय गरिने मन्त्रालयको तयारी छ।
स्थानीयमा रोजगारीको आशा
गोरखा नगरपालिका–१३ की वडाध्यक्ष मित्रा परियारले उद्योग अहिले संरक्षण र रेखदेखको अवस्थामा मात्र रहेको बताइन्। उनका अनुसार उद्योग परिसरको सुरक्षाका लागि करिब तीन–चार जना गार्ड खटिएका छन्।
उद्योग पुनः सञ्चालनमा आए स्थानीय बासिन्दाले रोजगारी पाउने र उद्योगसँग जोडिएको आर्थिक गतिविधि फेरि चलायमान हुने स्थानीयको अपेक्षा छ।
परियारका अनुसार उद्योगका लागि जग्गा अधिग्रहण हुँदा स्थानीयले विश्वासका साथ सहयोग गरेका थिए। उद्योग बन्द भएपछि धेरैले रोजगारी गुमाएको र केही स्थानीय रोजगारीको खोजीमा विदेश जान बाध्य भएको उनले बताइन्।
तर उद्योग पुनः सञ्चालनका लागि सरकारले स्थानीयसँग अहिलेसम्म स्पष्ट योजना वा सञ्चालन मोडेलबारे पर्याप्त जानकारी नदिएको उनको भनाइ छ। उद्योग सरकारले सञ्चालन गर्ने हो वा निजी क्षेत्रलाई जिम्मा दिने हो भन्ने विषयमा स्थानीयसमेत अन्योलमा छन्।
केही महिनाभित्र सञ्चालन मोडेल तय हुने दाबी
प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी, सुशील खड्कालगायत तथा अर्थ र उद्योग मन्त्रालयका प्रतिनिधिले साउन ३१ गते उद्योगको स्थलगत निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा सांसद बुर्लाकोटीले उद्योग पुनः सञ्चालनका लागि केही महिनाभित्र उपयुक्त मोडेल तय गरिने बताएका थिए। उनले गोरखकाली रबर उद्योगलाई राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण परियोजनाका रूपमा व्याख्या गरेका थिए।
तर उद्योग कुन मितिबाट सञ्चालनमा आउने भन्नेबारे अहिले नै निश्चित समय तोक्न नसकिने उनको भनाइ थियो।
१० अर्बको सम्पत्ति, सयौँ रोपनी क्षेत्रफल
गोरखकाली रबर उद्योग २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएको थियो भने २०४२ सालमा यसको शिलान्यास गरिएको थियो। उद्योगले २०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।
सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा राज्यको करिब १० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको बताइएको छ। सञ्चालनको प्रारम्भिक चरणमा उद्योगले करिब ४०० जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो।
लामो समयदेखि बन्द रहेका यस्ता सार्वजनिक उद्योग पुनः सञ्चालनमा ल्याउन सके स्वदेशी उत्पादन बढाउन, आयात प्रतिस्थापन गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुग्न सक्छ।
तर विगतमा राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, उच्च उत्पादन लागत, बजार अभाव र निरन्तर आर्थिक घाटाका कारण सरकारी उद्योगहरू बन्द भएकाले पुनः सञ्चालनपछि दीर्घकालीन रूपमा टिकाउन सरकारसमक्ष ठूलो चुनौती छ।
गोरखकाली रबर उद्योगको हकमा पनि केवल पुनः सञ्चालन गर्ने निर्णयभन्दा व्यावसायिक व्यवस्थापन, स्पष्ट लगानी योजना, दक्ष जनशक्ति, बजार सुनिश्चितता र प्रतिस्पर्धी उत्पादनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
हालका लागि उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको भए पनि कहिले उत्पादन सुरु हुन्छ र कुन मोडेलमा उद्योग चलाइन्छ भन्ने विषय अझै अनिश्चित छ।