गोलबजार घटनाको छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा
सिरहा । सिरहाको गोलबजारमा भएको हालैको घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको यो टोलीले स्थलगत निरीक्षण गर्दै औपचारिक रूपमा छानबिन अघि बढाएको छ।
टोलीले घटनासँग जोडिएका तथ्य, प्रमाण र उपलब्ध सूचना संकलन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, पीडित पक्ष र अन्य सरोकारवालासँग छलफल गरिरहेको जनाइएको छ। घटनाको वास्तविक कारण, तत्कालीन परिस्थिति र जिम्मेवारीबारे निष्पक्ष अध्ययन गरी प्रतिवेदन तयार पारिने बताइएको छ।
छानबिन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता गृह मन्त्रालयले जनाएको छ, साथै घटनाको सत्यतथ्य सार्वजनिक गरिने पनि उल्लेख गरिएको छ। टोलीको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने अपेक्षा गरिएको छ।
गोलबजार घटनापछि स्थानीय क्षेत्रमा देखिएको तनावलाई मध्यनजर गर्दै सरकारले निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य उजागर गर्ने उद्देश्यले यो उच्चस्तरीय टोली खटाएको हो।