जेनजी आन्दोलनको भावना सरकारले सम्बोधन गर्न सकेन : प्रकाश रसाइली
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली (स्नेही)ले वर्तमान सरकारले आन्दोलनको भावना र युवाहरूले उठाएका मुद्दालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताको दैनिक समस्या समाधान तथा राज्यका संवैधानिक निकायलाई प्रभावकारी बनाउने विषयमा सरकार असफल हुँदै गएको बताएका छन् । राजनीतिक अस्थिरता, अराजकता र पुराना राजनीतिक दलहरूको प्रवृत्तिप्रतिको असन्तुष्टिका बीच युवाहरू सडकमा उत्रिएको उल्लेख गर्दै उनले आन्दोलनको मूल अपेक्षा सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको विकास रहेको बताएका छन् ।
रसाइलीले जेनजी आन्दोलनका भदौ २३ र २४ गतेका घटनालाई छुट्टाछुट्टै कोणबाट हेर्नुपर्ने बताएका छन् । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा राज्यको कमजोरी तथा सूचना व्यवस्थापनको अभावका कारण धेरै युवाले अनाहकमा ज्यान गुमाउनुपरेको थियो । त्यसपछि आन्दोलनले अर्कै रूप लिएको उनको भनाइ छ । भदौ २३ गते धेरै युवाले निर्मम रूपमा ज्यान गुमाएको र त्यसमा राज्य तथा सूचना व्यवस्थापनको कमजोरी रहेको उनले बताएका छन् ।
भदौ २४ गते भने जेनजी आन्दोलनका नाममा सिंहदरबारदेखि पशुपतिनाथ, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान, सरकारी भवन तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै त्यसलाई पनि गम्भीर रूपमा हेर्नुपर्ने रसाइलीले बताएका छन् । आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाहरूको सपना पूरा गर्नु सबै राजनीतिक दलको जिम्मेवारी रहेको भन्दै उनले नेपाली कांग्रेसले आन्दोलनको स्वामित्व ग्रहण गर्ने बताएका छन् ।
लामो समयदेखि नेपाली राजनीतिमा बढ्दै गएको जनआक्रोशकै परिणामस्वरूप युवाहरू सडकमा आएको रसाइलीको दाबी छ । राजनीतिक दलहरूले सत्ता प्राप्तिका लागि सिद्धान्त र विचारमा सम्झौता गर्ने प्रवृत्तिका कारण जनतामा निराशा बढेको उनले बताएका छन् । निर्वाचनअघि दृष्टिकोण र सिद्धान्त नमिले पनि सत्ता प्राप्तिका लागि सम्झौता गर्ने तथा निर्वाचनपछि फेरि अर्को दलसँग सत्ताका लागि सम्झौता गर्ने प्रवृत्तिबाट नेपाली जनता आक्रान्त भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनको भावनाबाट बनेको वर्तमान सरकार नै जनताको अपेक्षा पूरा गर्न असफल भएको रसाइलीले आरोप लगाएका छन् । अस्पताल र ग्यासको लाइन, बाढीपहिरो पीडितको समस्या, औषधि तथा उपचारको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलगायत विषयमा सरकार प्रभावकारी हुन नसकेको उनले बताएका छन् । पछिल्लो समयमा देशको अवस्था निकै भयावह बनेको उल्लेख गर्दै उनले बाढीपहिरो प्रभावित नागरिकका लागि राहत वितरण तथा स्वास्थ्य उपचारको व्यवस्था प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सुशासनका दृष्टिले पनि सरकार असफल भएको रसाइलीको आरोप छ । जेनजी आन्दोलनका प्रमुख मुद्दामध्ये सुशासन भए पनि सरकारले त्यसअनुसार काम गर्न नसकेको उनले बताएका छन् । राजनीतिक नियुक्तिमा आफन्त तथा नजिकका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका छन् । राज्यका महत्वपूर्ण निकायमा निष्पक्षता र योग्यता कायम गर्नुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले पूर्वाग्रही ढङ्गले कारबाही गरिरहेको आरोप पनि रसाइलीले लगाएका छन् । पर्याप्त प्रमाण तथा कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्ने र पछि अदालतबाट छुट्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैली अपरिपक्व रहेको टिप्पणी गरेका छन् । भ्रष्टाचार नियन्त्रण प्रभावकारी र कानुनी प्रक्रियाअनुसार हुनुपर्ने उनको धारणा छ ।
सरकारले जनतामाथि करको भार थप्दै गएको दाबी गर्दै रसाइलीले शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता आधारभूत क्षेत्रमा लगाइएको कर नीतिको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता तथा जनतालाई आधारभूत सेवा उपलब्ध गराउने विषयमा सरकारले प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
जेनजी आन्दोलनका युवाहरूको मुख्य अपेक्षामध्ये रोजगारी र देशभित्र अवसर सिर्जना गर्नु रहेको रसाइलीले बताएका छन् । बेरोजगार युवालाई निश्चित अवधिका लागि बेरोजगार भत्ता उपलब्ध गराएर नेपालमै ठूला कलकारखाना तथा उद्योग स्थापना गर्नुपर्ने र विदेशिएका युवालाई नेपाल फर्काउने अभियान सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ ।
दैनिक ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेको उल्लेख गर्दै रसाइलीले सरकारसँग दीर्घकालीन रोजगारी सिर्जना गर्ने स्पष्ट योजना नभएको आरोप लगाएका छन् । रेमिट्यान्समा मात्र निर्भर भएर मुलुक चलाउन नसकिने भन्दै उनले प्राकृतिक स्रोतसाधनको उपयोग र नयाँ आम्दानीका स्रोत पहिचान गर्नुपर्ने बताएका छन् । रोजगारी सिर्जना र आर्थिक विकासका लागि सरकारले दीर्घकालीन रणनीति बनाउनुपर्ने उनको जोड छ ।
सरकारलाई पाँच, १० र २० वर्षे योजनाका आधारमा अघि बढ्न सुझाव दिँदै रसाइलीले तत्कालीन लोकप्रियता तथा राजनीतिक स्टन्टभन्दा दीर्घकालीन आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । जनताको तत्कालीन समस्या समाधानसँगै भविष्यका लागि बलियो आर्थिक आधार निर्माण गर्न सरकार केन्द्रित हुनुपर्ने उनको धारणा छ ।
रसाइलीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरेका छन् । भदौ २३ गतेका घटनामा ज्यान गुमाउने युवालाई शहीदका रूपमा सम्मान गर्नुपर्ने तथा भदौ २४ गते राष्ट्रिय तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्न दोषीमाथि कानुनी कारबाही हुनुपर्ने उनले बताएका छन् । दुवै दिनका घटनालाई निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
सरकारसँग अझै पर्याप्त समय रहेकाले आफ्नो कार्यशैली सुधार्न रसाइलीले आग्रह गरेका छन् । जेनजी आन्दोलनको भावना सम्बोधन गर्दै संविधानको रक्षा, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र जनताप्रति उत्तरदायी शासन सञ्चालन गर्न सके वर्तमान सरकारको भविष्य सुरक्षित रहने उनको धारणा छ । उनले युवाहरूले उठाएका मागलाई सम्बोधन गर्दै राज्य सञ्चालनमा नयाँ राजनीतिक संस्कार र जवाफदेहिता स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।