‘गौँथली’ दोस्रो हप्तामा : व्यापार होइन सन्देश नै मुख्य, निर्देशक रिजाल

gauthali-film-message-over-business-director-kapil-rijal

काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ हाल प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरिसकेको छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै देशभर यसका शोको संख्या क्रमशः बढिरहेको निर्माण पक्षले जनाएको छ।

फिल्मका निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्दै आएकाले टिमले छुट्टै आम्दानी विवरण सार्वजनिक गर्ने गरेको छैन।

व्यापारभन्दा पनि दर्शकबाट प्राप्त स्नेह र फिल्मले बोकेको सन्देश बढी महत्वपूर्ण रहेको उनको भनाइ छ। फरक क्षमता भएका व्यक्तिप्रति समाज र परिवारले अपनाउनुपर्ने व्यवहार तथा छोरी शिक्षाको आवश्यकतासम्बन्धी सन्देश दर्शकसम्म पुगेकोमा उनी सन्तुष्ट रहेको बताउँछन्। साथै व्यापारिक हिसाबले पनि फिल्म राम्रो प्रदर्शन गरिरहेको उनले जनाए, यद्यपि टिमको मुख्य ध्यान भने कलात्मक पक्षमै केन्द्रित रहेको उनले स्पष्ट पारे।

चलचित्र क्षेत्रमा आफ्नो संलग्नताबारे डा. रिजालले यसलाई पारिवारिक कला र साहित्यिक विरासतको निरन्तरताका रूपमा व्याख्या गरे। हजुरबुवा साहित्यकार र पिता वरिष्ठ चिकित्सक डा. भोला रिजाल साहित्य, संगीत तथा चलचित्रमा सक्रिय रहनुले घरैमा सिर्जनात्मक परिवेश निर्माण गरेको र यसैले बाल्यकालदेखि नै उनलाई अभिनय र कथावाचनतर्फ आकर्षित गरेको उनले बताए।

विद्यालय र कलेजस्तरदेखि चिकित्सा अध्ययनकालसम्म पनि उनले छोटा फिल्म र म्युजिक भिडियो निर्माण जारी राखेका थिए। पेशाले दन्त चिकित्सक भए तापनि सिर्जनात्मक अभिरुचि कहिल्यै मत्थर भएन।

आफ्ना फिल्महरूमा स्वास्थ्य, शिक्षा र सामाजिक विषयवस्तु पटक-पटक दोहोरिनुको कारण आफ्नै जीवन परिवेशसँग गाँसिएको रिजालको भनाइ छ। ‘बैंकरको छोरो भएको भए बैंकिङसम्बन्धी कथा भन्ने थिएँ होला। हामी स्वास्थ्य र शिक्षाकै वातावरणमा हुर्कियौं, त्यसैले यी विषय स्वाभाविक रूपमै हाम्रा सिर्जनाको केन्द्रमा पर्छन्,’ उनले भने। स्वास्थ्य र शिक्षालाई उनले हरेक नेपालीको आधारभूत हकका रूपमा हेर्ने गरेको र यही मान्यताले उनका कथावस्तुलाई सामाजिक संवेदनशीलतासँग जोड्ने गरेको बताए।

यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरिसकेका रिजालले यसपटक फरक विधामा हात हालेका छन्। करिब २५ वर्षअघि पिता डा. भोला रिजालले निर्माण गरेको उही नामको फिल्मबाट प्रेरणा लिँदै नयाँ पुस्ताका लागि आधुनिक प्रविधिसहित पुनर्व्याख्या गरिएको संस्करण तयार पारिएको हो।

नेपाली भाषा, संस्कृति, पहिरन, संगीत र ग्रामीण जीवनशैलीलाई आधुनिक सिनेमाई शैलीमार्फत दीर्घकालसम्म टिकिरहने कृतिका रूपमा स्थापित गर्ने उद्देश्य रहेको उनले बताए। सुरुमा करिब २०० शोबाट प्रदर्शन थालेको फिल्मले हाल २५० भन्दा बढी शो पाइसकेको निर्माण पक्षको दाबी छ, जसका साथै अधिकांश हलमा दर्शकको उपस्थिति बढ्दै गएको जनाइएको छ।

निर्देशक, कलाकार र निर्माण टोली काठमाडौं उपत्यकाका साथै विभिन्न सहरी हलमा पुगेर दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै प्रतिक्रिया संकलन गरिरहेका छन्।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। डा. भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा र संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता सरला रिजाल रहेकी छन् भने घर, परिवार र सम्बन्धको भावलाई केन्द्रमा राखिएको यस फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।