‘गौंथली’को सफलतामा दंग मदनकृष्णलाई ‘मास्टर’ बनाउने डा. रिजाल
साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौंथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले सुरुवाती तालिकाभन्दा शो संख्या बढाएका छन् । शुक्रबारको तुलनामा शनिबार थप शो पाएको चलचित्रका अतिरिक्त शोहरू पनि भरिएपछि शनिबार साँझदेखि नै प्रदर्शन संख्या थपिएको निर्देशक तथा निर्माता डा. कपिल रिजाल बताउँछन् ।
निर्देशक डा. रिजालका लागि ‘गौंथली’ केवल चलचित्र मात्र नभई पुस्तौंदेखि बग्दै आएको कला, साहित्य र संस्कृतिप्रतिको मोहको निरन्तरता हो । हजुरबुवा साहित्यकार र पिता वरिष्ठ चिकित्सक डा. भोला रिजाल साहित्य, संगीत र चलचित्रमा सक्रिय रहेको घरेलु वातावरणले बाल्यकालदेखि नै उनलाई अभिनय र कथाप्रति आकर्षित गरायो । पेशाले दन्त चिकित्सक भए पनि उनको सिर्जनाको हुटहुटी कहिल्यै रोकिएन ।
डा. रिजालका चलचित्रमा स्वास्थ्य, शिक्षा र सामाजिक विषय बारम्बार आउनुको कारण पनि उनको जीवन अनुभवमै भेटिन्छ । आफू स्वास्थ्य र शिक्षाकै वातावरणमा हुर्किएकाले ती विषय आफ्नो सिर्जनाको केन्द्रमा आउने गरेको र नेपालजस्तो देशमा स्वास्थ्य र शिक्षा हरेक नेपालीको जन्मसिद्ध अधिकार हुनुपर्ने आफ्नो विश्वास रहेको उनले बताए ।
यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरिसकेका रिजालले यसपटक दर्शकसँग भावनात्मक रूपमा जोडिने, समय बिते पनि सान्दर्भिक रहने नेपाली कथा भन्न चाहेकाले करिब २५ वर्षअघि पिता डा. भोला रिजालले बनाएको ‘गौंथली’बाट प्रेरित भई आधुनिक प्रविधिसहित पुनः व्याख्या गरिएको संस्करण तयार गरे । चलचित्रको उद्देश्य नेपाली भाषा, संस्कृति, भेषभूषा, संगीत र गाउँको जीवनलाई समयभन्दा पर टिक्ने कृतिका रूपमा स्थापित गर्नु रहेको उनले उल्लेख गरे ।
चर्चित अनुहारभन्दा पात्रमा हराउन सक्ने कलाकार आवश्यक ठानी मुख्य भूमिकामा सिम्रन खड्का र अरुण क्षेत्रीलाई रोजिएको हो । चलचित्रको केन्द्रमा रहेको फरक क्षमताका व्यक्तिप्रतिको समाजको दृष्टिकोणलाई सम्मानजनक ढंगले प्रस्तुत गर्न टोलीले विस्तृत अध्ययन र अभिभावकसँग परामर्श गरेको थियो, जसको प्रभाव हलसम्म देखिएको छ । धेरै अभिभावकले आफ्ना अटिजम भएका बालबालिकाको अनुभव सुनाउँदै चलचित्रले उनीहरूलाई सम्मानपूर्वक प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा प्रेम, संघर्ष, बालविवाह, पारिवारिक सम्बन्ध र आत्मस्वीकृतिका अनेक तह समेटिएका छन् । निर्देशक रिजालका लागि बक्स अफिसभन्दा दर्शकको मन जित्नु बढी महत्वपूर्ण रहेको उनले स्पष्ट पारे ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रले मनोरञ्जनसँगै छोरीको शिक्षा, बालविवाह र अटिजमप्रति समाजको दृष्टिकोण परिवर्तन गर्ने सशक्त सन्देश दिएको बताए । शिक्षकको भूमिकामा देखिएका श्रेष्ठले निर्देशक डा. कपिल रिजालसँग पारिवारिक आत्मीयता रहेको र वास्तविक जीवनमा आफूले पनि सानै उमेरमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको अनुभवले पात्र बुझ्न सहज भएको सुनाए । उनले चलचित्रले ग्रामीण समाजमा छोरीको शिक्षाभन्दा कम उमेरमै विवाह गरिदिने प्रवृत्तिलाई यथार्थ रूपमा देखाएको र सिम्रन खड्काको अभिनय अत्यन्त स्वाभाविक रहेको प्रशंसा गरे ।
नेपालभर करिब २०० स्क्रिनमा प्रदर्शन भइरहेको ‘गौंथली’ अब अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीमा छ । अमेरिकामा साउन २४ गतेदेखि, त्यसपछि मध्यपूर्व, बेलायत र अस्ट्रेलियामा पनि यो चलचित्र प्रदर्शन हुँदैछ, जसमार्फत विदेशमा रहेका नेपालीलाई नेपालीपनको सुगन्ध अनुभूति गराउने निर्देशकको अपेक्षा छ ।