गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति र भरणपोषणको माग

ganesh-nepali-family-compensation-demand-gig-workers

काठमाडौं । प्रहरी दबाबविरुद्ध आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको मृत्युप्रति विभिन्न राइडर युनियनहरूले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

राइडर्स युनियन नेपाल र नेपाल प्लाटफर्म वर्कर्स युनियनलगायतका संस्थाहरूले संयुक्त वक्तव्य निकाल्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेका छन् । यस घटनाले गिग तथा प्लाटफर्म क्षेत्रमा कार्यरत श्रमिकहरूलाई गहिरो सदमा पुर्‍याएको वक्तव्यमा उल्लेख छ ।

युनियनहरूले पहिलेदेखि उठाउँदै आएको श्रमिक अधिकारको आवाजलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । साथै मृतकको परिवारलाई उचित क्षतिपूर्ति तथा भरणपोषणको प्रबन्ध मिलाउन सरकार र सम्बद्ध रोजगारदातासँग आग्रह गरेका छन् ।

यसै सन्दर्भमा गिग तथा प्लाटफर्म श्रमिकहरूले सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन्, जसमा विगत एक दशकमा यो क्षेत्र फस्टाए पनि लाखौं कामदार श्रम अधिकार, सामाजिक सुरक्षा र सुरक्षित काम गर्ने वातावरणबाट वञ्चित रहेको बताइएको छ ।

ज्ञापनपत्रमार्फत श्रमिकहरूले श्रम ऐनअनुसार संगठित हुन पाउने र सामूहिक सौदाबाजी गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । साथै अन्तर्राष्ट्रिय श्रम संगठनको प्लाटफर्म अर्थतन्त्रसम्बन्धी मापदण्ड लागू गर्न र सर्वोच्च अदालतको आदेशअनुरूप श्रमिक अधिकार सुनिश्चित गर्ने कानुन बनाउन आग्रह गरिएको छ ।

त्रिपक्षीय संवाद समिति गठन गर्ने र राइड शेयरिङसम्बन्धी विवाद समाधानका लागि श्रम अदालतमा निःशुल्क तथा छिटो सेवा दिने व्यवस्थाको पनि माग गरिएको छ । इन्धन मूल्य र बढ्दो जीवनयापन खर्चलाई ध्यानमा राखी भाडादर समायोजन गर्नुपर्ने माग समेत ज्ञापनपत्रमा समावेश छ ।