गिरिजाप्रसाद कोइरालाको आर्थिक नीति र निर्णयमाथि अध्ययन गर्न फाउन्डेसनलाई गगन थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति, गरेका आर्थिक निर्णय र तय गरेका प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न जीपी कोइराला फाउन्डेसनलाई आग्रह गरेका छन् । शुक्रबार जीपी कोइराला फाउन्डेसनको एजीएम तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानबारे पर्याप्त चर्चा भए पनि उनको आर्थिक नीतिका विषयमा पर्याप्त बहस र अध्ययन हुन नसकेको बताएका हुन् ।
थापाले २०४८ देखि २०५१ सालसम्मको अवधिलाई नेपालको आर्थिक विकासका दृष्टिले महत्वपूर्ण समयका रूपमा व्याख्या गरे । उनका अनुसार उक्त अवधिमा लिइएका आर्थिक निर्णय र तय गरिएका प्राथमिकताले नेपालको अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि बढाउने आधार तयार गरेका थिए ।
थापाले गिरिजाप्रसाद कोइरालालाई आफ्नो राजनीतिक कर्मको नेता, अभिभावक र गुरुका रूपमा स्मरण गरे । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई राजनीतिक आदर्शका पात्र तथा बीपी कोइराला आस्थाको केन्द्र भए पनि आफू लगायत कांग्रेसको वर्तमान नेतृत्वमा रहेका धेरै नेताका लागि गिरिजाप्रसाद कोइराला राजनीतिक कर्मका नेता, अभिभावक र गुरुको भूमिकामा रहेको उनले बताए ।
गिरिजाप्रसाद कोइरालासँगको संगत, अन्तरक्रिया र राजनीतिक बहसबाट आफूहरूको राजनीतिक व्यक्तित्व निर्माण भएको थापाले स्मरण गरे । बीपी कोइराला कांग्रेसका लागि आस्थाको केन्द्र भए पनि गिरिजाप्रसाद कोइराला कार्यकर्ताका लागि राजनीतिक अभिभावकको भूमिकामा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा थापाले सुजाता कोइरालाले आफ्नो राजनीतिक जीवनका महत्वपूर्ण मोडमा दिएको सहयोगको समेत स्मरण गरे । नेपाल विद्यार्थी संघको राजनीतिमा आफूलाई अभिभावकत्व र साथ आवश्यक परेको समयमा सुजाता कोइरालाले महत्वपूर्ण सहयोग गरेको उनले बताए ।
थापाले २०४८ देखि २०५१ सालको अवधिमा निजी क्षेत्रलाई विद्युत्, हवाई सेवा, टेलिफोन, मेडिकल कलेज तथा बैंकिङलगायतका क्षेत्रमा प्रवेश गराउने निर्णयलाई महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा व्याख्या गरे । मूल्य अभिवृद्धि कर (भ्याट) लगायत कर प्रणालीमा गरिएको सुधारलाई समेत उनले त्यस समयका महत्वपूर्ण आर्थिक निर्णयका रूपमा उल्लेख गरे ।
ती निर्णय तत्कालीन समयमा जोखिमपूर्ण देखिए पनि त्यसले नेपालको अर्थतन्त्रलाई नयाँ बाटोमा लैजान आधार तयार गरेको थापाको भनाइ छ । आर्थिक उदारीकरणका कारण कांग्रेसले लामो समयसम्म राजनीतिक आलोचना खेप्नुपरेको र पार्टीमाथि ‘उद्योग बेचुवा’ जस्ता आरोपसमेत लागेको उनले स्मरण गरे । त्यस्ता निर्णयको राजनीतिक मूल्य कांग्रेसले चुकाउनुपरे पनि गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजनीतिक लाभभन्दा मुलुकको दीर्घकालीन आर्थिक भविष्यलाई प्राथमिकता दिएको थापाले बताए ।
यही कारणले गिरिजाप्रसाद कोइरालाको आर्थिक नीति, आर्थिक निर्णय र आर्थिक प्राथमिकतामाथि थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको थापाको भनाइ छ । उनले जीपी कोइराला फाउन्डेसनले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानसँगै उनको आर्थिक दृष्टिकोण, नीतिगत निर्णय र नेपालको अर्थतन्त्रमा त्यसको प्रभावलाई समेत अनुसन्धानको विषय बनाउनुपर्ने बताए ।
थापाले अहिलेको सरकारले पनि अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट निर्णय गर्नुपर्ने बताएका छन् । विपद्पछि मुलुकको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र बन्न सक्ने भन्दै उनले स्रोत परिचालन, पुनर्निर्माण तथा आर्थिक व्यवस्थापनका विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।
यसै क्रममा थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन् । उनले असोज ४ गतेदेखि अधिवेशनको प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए । संविधान, पार्टीको विधान र अदालतको फैसलाले तोकेको व्यवस्थाअनुसार महाधिवेशनको मिति एक दिन वा एक घण्टा पनि तलमाथि नहुने उनको दाबी छ ।
थापाले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै पार्टीभित्रको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै सबै पक्षलाई समेटेर अघि बढ्ने बताए । महाधिवेशनपछि कांग्रेसले देशभर पुगेर नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्ने अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।
उनका अनुसार महाधिवेशन पार्टीको आन्तरिक नेतृत्व चयनको प्रक्रिया मात्र नभई कांग्रेसले नागरिकसँगको सम्बन्ध पुनःनिर्माण गर्ने अवसरसमेत बन्नुपर्नेछ । पार्टीभित्र प्रतिस्पर्धा रहे पनि महाधिवेशनपछि सबै पक्षलाई समेटेर नागरिकको विश्वास पुनःस्थापित गर्ने दिशामा कांग्रेस अघि बढ्ने थापाले बताएका छन् ।