ककपिटमै पाइलटलाई छुरा प्रहार, घाइते अवस्थामै जोगाए १७४ यात्रुको ज्यान
काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा ककपिटभित्र पाइलटमाथि छुरा प्रहार भएपछि ठूलो हवाई दुर्घटना टरेको छ। घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरले घाइते अवस्थामै ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु तथा चालक दलका सदस्यले कथित आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेका थिए। घटनामा विमानमा रहेका १७४ जनाको ज्यान जोगिएको बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्याप्टेन मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन्। नेतान्याहुका अनुसार गम्भीर रूपमा घाइते भए पनि मच्छरले प्रतिकार गर्दै ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेका थिए।
फ्लाईदुबईको एफजेड–१०७३ उडान दुबईबाट तेल अभिभका लागि उडेको थियो। उडानका क्रममा ककपिटमा दुई पाइलटबीच विवाद भएको र सहपाइलटले क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेको आरोप छ। त्यसपछि विमानको उचाइ तीव्र रूपमा घटेको थियो। रोयटर्सका अनुसार विमान करिब ३० सेकेन्डमा झन्डै १४ हजार फिट तल झरेको थियो।
विमानले उडानका क्रममा पहिले अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ‘७७००’ र त्यसपछि गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरण जनाउने ‘७५००’ संकेत प्रसारण गरेको फ्लाइट ट्र्याकिङ विवरणमा देखिएको छ। त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो।
विमान अन्ततः तबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको थियो। घटनापछि यात्रुहरूलाई अर्को फ्लाईदुबई विमानमार्फत इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो। फ्लाईदुबईले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
भारतीय क्याप्टेन स्मित मच्छरलाई उपचारका लागि तबुकस्थित अस्पताल लगिएको छ। पछिल्ला विवरणअनुसार उनको अवस्था स्थिर रहेको छ। भारतीय अधिकारीहरूले उनको परिवारसँग सम्पर्कमा रहेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।
घटनामा संलग्न भनिएका सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छन्। घटनाको वास्तविक कारण र उद्देश्यबारे अनुसन्धान जारी रहेकाले यसलाई आतंकवादी घटना वा अन्य कुनै उद्देश्यसँग जोडेर निष्कर्ष निकाल्नुअघि अनुसन्धानको नतिजा पर्खनुपर्ने देखिन्छ।
क्याप्टेन मच्छर फ्लाईदुबईका अनुभवी पाइलट हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले व्यावसायिक उड्डयन क्षेत्रमा एक दशकभन्दा बढी अनुभव हासिल गरेका छन् र बोइङ–७३७ विमानमा लामो समय उडान गरेका छन्।
घटनापछि फ्लाईदुबईले इजरायलतर्फका उडानसम्बन्धी सुरक्षा व्यवस्थाबारे पनि पुनरावलोकन गरिरहेको छ। घटनाले विमानको ककपिट सुरक्षा र उडानका क्रममा चालक दलबीचको सुरक्षा व्यवस्थाबारे समेत प्रश्न उठाएको छ।