फेस अफ नेपाल–२०२६को ग्रान्ड फिनाले सेप्टेम्बर ६ मा हुने

face-of-nepal-2026-finale

भोटेकोशीमा आएको बाढीका कारण देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेको मिति सारिएको छ ।

आयोजक एमएस प्रोडक्सनले सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गरिएको जनाएको छ । यसअघि अगस्ट ३० का लागि तय गरिएको ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले अब सेप्टेम्बर ६ मा ग्वार्कोस्थित रोयल टुलिपमा साँझ ५ बजेबाट आयोजना हुने भएको छ । आयोजकले अगस्ट २८ मै फिनाले स्थगित गरिएको जानकारी गराए पनि नयाँ मिति भने आज सार्वजनिक गरेको हो । आयोजकले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति समझदारी र सहयोगका लागि आभार व्यक्त गर्दै विपद्को अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेमा ८ महिला र ११ पुरुष गरी कुल १९ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् ।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल–२०२१’की विजेता तथा अभिनेत्री एवं मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल–२०२४’का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक एवं फेसन डिजाइनर सुकनीता चौलागाईं तथा नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका छन् । कोरियन फेसन शोका परिचित अनुहार तथा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेका लागि नेपाल आइसकेका छन् ।

‘फेस अफ नेपाल–२०२६’ दक्षिण कोरियाको अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’को नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको फेसन तथा मोडलिङ प्रतियोगिता हो ।