विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

electric-bus-purchase-80-percent-bank-loan-nepal

काठमाडौं । सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय बस किन्न अब बैंक तथा वित्तीय संस्थाहरूबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।

नेपाल राष्ट्र बैंकले आफ्नो एकीकृत निर्देशनमा संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीहरूको ऋण-मूल्य अनुपात बढाई ८० प्रतिशत पुर्‍याएको हो। यसको अर्थ खरिदकर्ताले बाँकी २० प्रतिशत रकम मात्र आफैंले जुटाउनुपर्नेछ।

यसअघि सार्वजनिक र व्यक्तिगत दुवै किसिमका विद्युतीय सवारीमा बढीमा ६० प्रतिशतसम्मै कर्जा पाइने नियम थियो। तर नयाँ व्यवस्थाअनुसार सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीलाई मात्र यो थप सुविधा दिइएको छ, जबकि व्यक्तिगत प्रयोजनका सवारीमा पहिलेकै ६० प्रतिशतको सीमा जस्ताको त्यस्तै रहनेछ।

यसका साथै, जेनजी आन्दोलनका कारण प्रभावित भएका व्यवसाय र उद्योगलाई पनि राष्ट्र बैंकले राहतको व्यवस्था गरेको छ। आन्दोलनताका क्षतिग्रस्त भएका व्यावसायिक सवारी र ढुवानी साधन फेर्नुपर्ने अवस्थामा पनि बैंकहरूले उस्तै ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन्।

केन्द्रीय बैंकको यस कदमले सार्वजनिक विद्युतीय यातायात क्षेत्रमा लगानी विस्तार गर्न मद्दत पुर्‍याउने र आन्दोलनबाट मारमा परेका व्यवसायीहरूलाई आफ्नो सवारी साधन पुनः खरिद गर्न सहज बनाउने अपेक्षा गरिएको छ।