शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. महाश्रम शर्मा
क्याम्पियन काठमाडौं स्कूल (सीकेएस) द्वारा आयोजित सप्ताहव्यापी ‘सीकेएस साहित्य उत्सव–२०८३’ अन्तर्गत ‘शिक्षा संवादः कस्तो हुनुपर्छ अबको शिक्षा ?’ विषयमा सार्वजनिक संवाद कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित हाडीगाउँ डबलीमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञहरूले नेपालको वर्तमान शिक्षा प्रणाली, चुनौती र सुधारका सम्भावित उपायबारे विचार राखेका थिए।
कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन परीक्षा प्रणाली र सिकाइ प्रक्रियामा संरचनागत परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार सिकाइ सुधारको सुरुआत परीक्षा प्रणालीबाट हुनुपर्ने भएकाले मूल्याङ्कन पद्धतिलाई समयानुकूल बनाउनु अपरिहार्य छ।
डा. शर्माले नेपालको पाठ्यक्रम क्षमता–आधारित भए पनि व्यवहारमा अझै रटानमुखी शिक्षण प्रणाली कायम रहेको उल्लेख गरे। उनले पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै केवल पाठ्यपुस्तक घोकाउने अभ्यासले गुणस्तरीय शिक्षा सम्भव नहुने धारणा व्यक्त गरे।
उनले शिक्षा केवल शैक्षिक उपलब्धिमा सीमित नभई भविष्यका जिम्मेवार नागरिक निर्माणसँग जोडिएको विषय भएको बताए। परिवार र विद्यालयबाट प्राप्त संस्कारले बालबालिकाको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले शिक्षा प्रणाली दीर्घकालीन सोचका साथ सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा टंगाल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारी र चौधरी समूह शिक्षा इकाइका क्लस्टर हेड डा. पीटर लेप्चाले पनि शिक्षा सुधार, सिकाइको गुणस्तर र भविष्यको शिक्षा नीतिबारे आफ्ना धारणा राखेका थिए। आयोजक क्याम्पियन काठमाडौं स्कूलका अनुसार कार्यक्रममा नेपालको शिक्षा प्रणालीलाई समयसापेक्ष, व्यवहारिक र गुणस्तरीय बनाउने विषयमा खुला छलफल गरिएको थियो।