कंगोमा इबोला प्रकोप, मृतक ९६७ पुग्यो
काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमण नयाँ भूभागतिर फैलिरहेको र अवस्था अझै काबूमा नआएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
जेनेभामा भएको पत्रकार भेटघाटमा डब्ल्यूएचओका इटुरी प्रान्त घटना समन्वयक थियर्नो बाल्डेले लामो समयदेखिको अस्थिरता, विवादको सम्भावना, विस्थापित जनसंख्या र बढ्दो आवागमनका कारण भाइरस फैलिन सहज वातावरण बनेको बताए । स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायमा उपचार र अनुगमन प्रक्रिया अपनाउन उत्प्रेरित गर्न सचेतना अभियान तीव्र पारेको र हाल संक्रमणलाई थप फैलिनबाट रोक्नु नै प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे ।
कंगो सरकारका तथ्यांक अनुसार आइतबारसम्ममा दुई हजार ४२३ जनामा इबोला पुष्टि भइसकेको छ, जसमध्ये ९६७ जनालेज्यान गुमाएका छन् भने ४६९ जना स्वस्थ भइसकेका छन् । हाल ७३४ बिरामी उपचाररत वा अवलोकनमा छन् ।
यस प्रकोपले अगाडि खटिएर काम गरिरहेका १२१ स्वास्थ्यकर्मीलाई पनि सताएको छ, जसमध्ये ३६ जनाको मृत्यु भइसकेको छ । इटुरीको अड्जा क्षेत्रमा नयाँ संक्रमण पुष्टि भएपछि अहिले पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्र प्रभावित भएका छन्, जसमध्ये ४६ मा संक्रमण अझै सक्रिय छ ।
मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको यो प्रकोप इटुरी प्रान्तबाटै सुरु भएको हो, जहाँ कुल संक्रमितको ९० प्रतिशतभन्दा बढी र मृत्युको लगभग ८० प्रतिशत घटना दर्ता भएका छन् ।
जनआवतजावत, सुरक्षा जोखिम, अवैध खानी गतिविधि र युगान्डा-दक्षिण सुडानसँगको खुला सीमाले नियन्त्रण कार्यलाई थप जटिल बनाइरहेको डब्ल्यूएचओको भनाइ छ । संक्रमण अन्य मुलुकमा नफैलियोस् भन्नका लागि कंगो र युगान्डाले सीमावर्ती क्षेत्र कासेनीमा रहेको संयुक्त मोबाइल प्रयोगशालाको प्राविधिक मूल्यांकन गरिसकेका छन् ।