July 9, 2026 0 MIN READ

आईपीओ जारी गर्दै ईस्ट सोलार, ५ मेगावाट सौर्य आयोजना सम्पन्नसँगै सर्वसाधारणलाई शेयर

0 MIN READ
east-solar-ipo-issue-jhapa-5mw-solar-project

सौर्य ऊर्जा उत्पादन क्षेत्रमा सक्रिय ईस्ट सोलार लिमिटेडले झापा जिल्लाको बैगुनधुरामा निर्माणाधीन ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सम्पन्न हुने चरणमा पुगेपछि कम्पनीलाई सार्वजनिक स्वामित्वमा लैजाने तयारीलाई तीव्र बनाएको छ। यसका लागि कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक (इश्यु म्यानेजर) नियुक्तिसम्बन्धी सम्झौता गरेको हो। कम्पनीका अनुसार आयोजना सञ्चालनमा आउने समयसँगै आईपीओ निष्कासन गर्ने लक्ष्य राखिएको छ, जसबाट सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराइनेछ। कम्पनी हाल पब्लिक लिमिटेडमा रूपान्तरण हुने प्रक्रियामा रहेको र पूँजी बजारमार्फत दीर्घकालीन लगानी जुटाउने रणनीतिअनुसार अघि बढिरहेको जनाएको छ।

सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृतले झापाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना करिब सम्पन्न भइसकेको जानकारी दिँदै आयोजना सञ्चालन र आईपीओ निष्कासनको प्रक्रिया सँगसँगै अगाडि बढाउने उद्देश्य रहेको बताए। उनका अनुसार परियोजना सञ्चालनमा आएपछि स्वच्छ ऊर्जा उत्पादन बढ्नुका साथै कम्पनीको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। आईपीओमार्फत सर्वसाधारणलाई कम्पनीको लगानी साझेदार बनाउने तयारीले कम्पनीको वित्तीय आधार थप मजबुत हुने विश्वास पनि व्यक्त गरिएको छ।

नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले आफ्नो संस्थाले ईस्ट सोलारको निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको जानकारी दिँदै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकरका रूपमा पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापन पनि संस्थाको प्रमुख सेवा रहेको बताए। उनले निजी क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमार्फत लगानी जुटाउन सहजीकरण गर्ने उद्देश्यअनुसार यस्तो सहकार्यलाई निरन्तरता दिइएको उल्लेख गरे।

खनालले सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने दीर्घकालीन लक्ष्य लिएको अवस्थामा निजी क्षेत्रको विस्तार र पूँजी बजारको विकास अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे। उनका अनुसार अधिकांश कम्पनी अझै बैंक ऋणमै निर्भर रहेकाले शेयर बजारमार्फत दीर्घकालीन पूँजी संकलन गर्ने अभ्यासलाई प्रोत्साहन गर्न आवश्यक छ। उनले ईस्ट सोलारसँग भएको सम्झौताले ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार गर्न, नवीकरणीय ऊर्जा उत्पादनलाई थप गति दिन तथा नेपालको पूँजी बजारलाई सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।