July 11, 2026 0 MIN READ

निष्क्रिय बैंक खाता अब शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

0 MIN READ
dormant-bank-account-closure-any-branch-mobile-app

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउने र ग्राहकलाई थप सहज सेवा दिने उद्देश्यले नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको छ ।

केन्द्रीय बैंकले आफ्नो एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनसम्बन्धी नयाँ प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको हो । यस व्यवस्थाअनुसार ग्राहकले आफ्नो खाता सम्बन्धित बैंकको देशभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एपमार्फत समेत बन्द गर्न सक्नेछन् ।

खाता बन्द गर्ने अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा सारेर मात्रै खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ ।

निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गर्ने प्रक्रिया पनि राष्ट्र बैंकले सरल बनाएको छ । ग्राहकले देशको जुनसुकै शाखाबाट आफ्नो परिचय प्रमाणित गरी निष्क्रिय खाता पुनः सञ्चालनमा ल्याउन सक्नेछन् ।

इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना बनाई २०८३ साल पुस मसान्तभित्र अनिवार्य रूपमा लागू गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

निर्देशनअनुसार खाता निष्क्रिय हुनुअघि नै बैंकहरूले फोन, एसएमएस र इमेलजस्ता माध्यमबाट ग्राहकलाई नियमित सूचना दिनुपर्नेछ । साथै निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा हरेक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

प्रविधिको दुरुपयोग र वित्तीय अपराध नियन्त्रणका लागि पनि राष्ट्र बैंकले थप कडाइ गरेको छ । निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबारको निगरानी गर्न बैंकहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ ।

यसका साथै निष्क्रिय खाताको दुरुपयोग गरी हुनसक्ने शंकास्पद कारोबार (मनी म्युल) तथा अन्य वित्तीय अपराधबारे जनचेतना बढाउन नियमित रूपमा सूचनामूलक सामग्री तयार गरी प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता गैरकानुनी गतिविधि पहिचान र नियन्त्रण गर्न बैंकहरूले आफ्ना कर्मचारीको क्षमता पनि अभिवृद्धि गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।