विपद्को घडीमा दोष होइन सहारा र मानवीय सहयोग आवश्यक

disaster-humanity-support-and-responsibility

विज्ञान प्रविधि र भौतिक विकासले मानव जीवनलाई सहज बनाउँदै सूचना तथा सञ्चारलाई क्षणभरमै संसारभर पुर्‍याए पनि मानवीय संवेदना कमजोर हुँदै गएको अनुभूति विपद्को समयमा अझ स्पष्ट देखिन थालेको छ । नेपाल यतिबेला बाढी पहिरो डुबानलगायतका प्राकृतिक विपद्का कारण प्रभावित भइरहेका बेला कतिपय परिवारले प्रियजन गुमाएका छन् भने कतिपयको घरबार र जीवनभरको कमाइ क्षणभरमै बगेको छ । कसैको घरमा चुलो बल्न सकेको छैन भने कसैलाई सुरक्षित बासस्थानको चिन्ता छ र कसैलाई घाइते आफन्तको उपचारको चिन्ता छ । यस्तो कठिन अवस्थामा पीडितका आँखामा आँसुसँगै उनीहरूलाई बचाउन सम्हाल्न र साथ दिन को आउँछ भन्ने मौन प्रश्न पनि रहेको छ । विपद्को समयमा सरकार स्थानीय तह सुरक्षा निकाय नागरिक समाज र सम्बन्धित सबै पक्षको भूमिका तथा कमजोरीबारे समीक्षा गर्नु आवश्यक भए पनि पीडितको जीवन जोखिममा रहेका बेला आरोप प्रत्यारोपलाई प्राथमिकता दिनु मानवीय दृष्टिले उचित हुँदैन । कसैको घर बगेको वा परिवारमा मृत्यु भएको घटना उसको व्यक्तिगत समस्या मात्र नभई सिंगो समाजको पीडा भएकाले सामाजिक सञ्जालमा कसलाई दोष दिने वा कसलाई गाली गर्नेभन्दा कसरी जीवन बचाउने कसरी राहत पुर्‍याउने र कसरी पीडितको आँसु पुछ्ने भन्ने विषयलाई प्राथमिकता दिन आवश्यक छ ।

सामाजिक सञ्जालमा मानवता करुणा देशप्रेम र सहयोगका कुरा गर्ने तथा दुःखद घटनामा श्रद्धाञ्जली र सहानुभूति व्यक्त गर्ने प्रवृत्तिलाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । मानवता शब्दमा होइन व्यवहारमा देखिनुपर्ने भएकाले एउटा फोन कल एउटा बोतल पानी एउटा कम्बल केही किलो खाद्यान्न सुरक्षित सवारी साधन केही घण्टाको स्वयंसेवा वा पीडितको कुरा ध्यानपूर्वक सुनिदिनु पनि महत्वपूर्ण सहयोग बन्न सक्छ । सहयोगको मूल्य त्यसको आकारले नभई त्यसले पीडितको जीवनमा पार्ने प्रभावले निर्धारण गर्छ । विपद्का बेला आर्थिक सहयोग महत्वपूर्ण भए पनि मानवताको दायरा पैसामा मात्र सीमित हुँदैन । पैसा दिन सक्नेले आर्थिक सहयोग गर्न सक्छ भने श्रम दिन सक्नेले स्वयंसेवा गर्न सक्छ । सवारी साधन भएकाले उद्धार तथा राहतमा साधन उपलब्ध गराउन सक्छ भने प्राविधिक ज्ञान भएकाले आफ्नो विशेषज्ञता प्रयोग गर्न सक्छ । सञ्चारको पहुँच भएकाले सही सूचना प्रवाह गर्न सक्छ र प्रभाव भएका व्यक्तिले सहयोग जुटाउन आवाज उठाउन सक्छन् । यीमध्ये कुनै पनि माध्यमबाट सहयोग गर्न नसक्नेले कम्तीमा गलत सूचना अफवाह र घृणा फैलाउने काम नगरेर पनि योगदान दिन सक्छ । विपद्को समयमा सामाजिक सञ्जाल राहत र उद्धारको प्रभावकारी माध्यम बन्न सक्ने भए पनि गलत सूचना अपुष्ट समाचार र पीडितको संवेदनशील अवस्थाको प्रदर्शन गर्ने माध्यम बन्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।

मृतक तथा घाइतेका तस्वीर र भिडियो अनावश्यक रूपमा प्रसारण गर्नु हुँदैन र अपुष्ट सूचना फैलाएर परिवार तथा समुदायमा थप त्रास सिर्जना गर्नु हुँदैन । एउटा सही सूचनाले जीवन बचाउन सक्ने भएकाले सञ्चारकर्मी सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिक सबैले विपद्का बेला सूचना सम्प्रेषणमा विशेष जिम्मेवारी अपनाउन आवश्यक छ । विपद् व्यवस्थापन राज्यको प्रमुख दायित्व भएकाले उद्धार उपचार राहत पुनस्र्थापना र पुनर्निर्माणका लागि सरकारी संयन्त्र प्रभावकारी रूपमा परिचालित हुनुपर्छ र प्रभावित नागरिकले राहत पाउन पहुँच पहिचान वा राजनीतिक सम्बन्ध खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । तर राज्यको दायित्व रहेको भन्दैमा नागरिकको जिम्मेवारी समाप्त हुँदैन । विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने भएकाले स्थानीय समुदाय सुरक्षा निकाय स्वास्थ्यकर्मी गैरसरकारी संस्था निजी क्षेत्र सञ्चारमाध्यम स्वयंसेवक प्रवासी नेपाली र आम नागरिकको संयुक्त प्रयास आवश्यक हुन्छ ।

विपद्मा परेका नागरिकलाई उनीहरूकै अवस्थाका लागि दोष दिने तथा ‘किन त्यहाँ बसेको’ ‘किन घर त्यहाँ बनाएको’ वा ‘किन समयमै निस्किएन’ जस्ता प्रश्न गर्नेभन्दा पहिले उनीहरूलाई सुरक्षित स्थान खाना औषधि र वास्तविक सहयोग आवश्यक हुन्छ । पीडितलाई उपदेशभन्दा सहारा र आलोचनाभन्दा सहयोग चाहिन्छ । प्राकृतिक विपद्ले जात धर्म वर्ग क्षेत्र विचार वा राजनीतिक आस्था हेर्दैन र आज अरूको घरमा आएको विपद् भोलि आफ्नै घरमा पनि आउन सक्ने भएकाले मानवीय संवेदना सबैको साझा जिम्मेवारी हो । यो विपद्को घडीमा आफ्नो क्षमता र अवस्थाअनुसार आर्थिक सहयोग गर्ने राहत सामग्री आवश्यक ठाउँमा पुर्‍याउने रक्तदान गर्ने स्वयंसेवामा सहभागी हुने उद्धार तथा राहतका लागि सवारी वा अन्य साधन उपलब्ध गराउने विश्वसनीय निकायबाट मात्र सूचना लिएर प्रसार गर्ने अफवाह र घृणा रोक्ने तथा पीडितको आत्मसम्मान र गोपनीयताको सम्मान गर्ने काम गर्न सकिन्छ ।

विपद्को समय केवल दुःखको समय नभई समाजको मानवताको कसी मापन हुने समय पनि हो । इतिहासले संकटको समयमा गरिएका भाषण वा सामाजिक सञ्जालका स्टाटस मात्र होइन संकटमा मानिसहरू कहाँ उभिए र उनीहरूले पीडितको आँसु देखेर आँखा फर्काए कि आँसु पुछ्न हात बढाए भन्ने कुरा सम्झनेछ । त्यसैले अहिले आवश्यक कुरा एकअर्कालाई दोष दिनु नभई हात समात्नु राजनीतिक विभाजन नभई मानवीय एकता कायम गर्नु र ठूलो भाषणभन्दा सानो भए पनि वास्तविक सहयोग गर्नु हो । अन्ततः मानिसको पहिचान उसको सम्पत्ति पद वा प्रतिष्ठाले मात्र नभई अरूको पीडामा उसले गरेको व्यवहार र सहयोगले निर्धारण गर्ने भएकाले विपद्को कठिन घडीमा सबैले आफ्नो स्थानबाट सक्दो मानवीय सहयोग गर्न आवश्यक छ ।