धर्मेन्द्र झा नेपाल न्यूज बैंकमा प्रमुख सम्पादन सल्लाहकार

dharmendra-jha-nepal-news-bank

वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’ नेपाल न्यूज बैंकमा प्रमुख सम्पादन सल्लाहकारका रूपमा आबद्ध भएका छन्। उनी बिहीबारदेखि औपचारिक रूपमा न्यूज बैंकमा जोडिएका हुन्। नेपाल न्यूज बैंकका अध्यक्ष कमल सापकोटाले झालाई फूलमाला लगाएर स्वागत गरेका थिए।

राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष झाले करिब चार दशकदेखि पत्रकारिता, साहित्य, सम्पादन तथा सामाजिक–सांस्कृतिक चेतना निर्माणमा योगदान दिँदै आएका छन्। उनले यसअघि हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन, कोसी अनलाइन, नयाँ पाइला अनलाइन तथा विकास टाइम्सलगायत सञ्चार संस्थामा सम्पादकीय नेतृत्व सम्हालेका छन्।

नेपाल न्यूज बैंकमा हाल २०० भन्दा बढी सञ्चारमाध्यम आबद्ध छन्। बैंकले समाचार, भिडियो, अडियो, फोटोफिचर, समसामयिक लेख तथा खोजमूलक सामग्रीसँगै अन्तर्राष्ट्रिय समाचार सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ।

झाले नेपाल न्यूज बैंकलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय समाचार संस्थाका रूपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मैथिली भाषा तथा साहित्यमा योगदान पुर्‍याएका झा आमसञ्चार तथा पत्रकारिताका प्रशिक्षक र संवाद सहजकर्ताका रूपमा समेत परिचित छन्।

मिडिया प्रविधि, राजनीतिशास्त्र तथा मैथिली भाषामा स्नातकोत्तर गरेका झाका मैथिली र नेपाली साहित्य, पत्रकारिता तथा विविध विषयका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। उनी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, सूचना अधिकार, मधेस तथा समावेशिताका मुद्दामा समेत सक्रिय रहँदै आएका छन्।