धनुषामा साहु महाजनको विरोध जुलुस, माघ १ गतेदेखि काठमाडौंमा धर्नाको चेतावनी

dhanusha-sahu-mahajan-protest-kathmandu-dharna-warning

जनकपुरधाममा पैसा ब्याजमा लगानी गर्ने साहु महाजनहरूले ठूलो विरोध प्रदर्शन गरेका छन् । मधेश प्रदेशका आठै जिल्लाबाट करिब सात सयभन्दा बढी साहु महाजन सहभागी रहेको जुलुस जनकपुरधामको मुख्य चोक हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत धनुषा अगाडि पुगेको थियो ।

प्रदर्शनकारीहरूले नौ बुँदे सम्झौता खारेज गर्नुपर्ने, गृहमन्त्रीविरुद्ध नारा लगाउने र लिएको ऋण फिर्ता पाउनुपर्ने जस्ता माग राख्दै नारावाजी गरे ।

पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति, मधेश प्रदेशका अध्यक्ष विजय यादवले आगामी दिनमा आन्दोलन अझ चर्किने चेतावनी दिए । उनका अनुसार माघ १ गतेदेखि आठवटै जिल्लाका साहु महाजन काठमाडौं प्रस्थान गर्नेछन् र सिंहदरबार तथा माइतीघर मण्डला अगाडि अनिश्चितकालीन धर्ना दिने कार्यक्रम रहेको छ ।

अध्यक्ष यादवका अनुसार सरकारले मिटर ब्याज पीडितहरूसँग गरेको नौ बुँदे सम्झौता दुईपक्षीय मात्र भएकाले लगानीकर्तासमेत समावेश गरी तीनपक्षीय सम्झौता हुनुपर्ने उनीहरूको माग हो । केही ऋणीका कारण सबै लगानीकर्तालाई मिटरब्याजी भन्नु अन्यायपूर्ण रहेको र आवश्यक पर्दा दिएको ऋण सरकारले फिर्ता नपाइने वातावरण बनाइदिएको उनको आरोप छ ।

विरोध प्रदर्शनकै क्रममा साहु महाजनहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नौ बुँदे सम्झौता पत्र जलाएका थिए ।