June 30, 2026 0 MIN READ

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

0 MIN READ
ddc-struggles-with-branding-marketing-plans

काठमाडौं । नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको दुग्ध विकास संस्थान (डीडीसी) ले गुणस्तरीय उत्पादनका कारण उपभोक्ताको विश्वास जित्न सफल भए पनि प्रभावकारी बजारिकरण, विज्ञापन र ब्रान्डिङको अभावले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा पछि परेको स्वीकार गरेको छ। काठमाडौं दुग्ध वितरण आयोजना, बालाजुका प्रमुख चक्रवर्ती पौडेलका अनुसार संस्थानले वर्षौंदेखि गुणस्तरलाई प्राथमिकता दिए पनि आफ्ना उत्पादनलाई व्यावसायिक रूपमा बजारमा स्थापित गर्न सकेको छैन। उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा डीडीसीको सबैभन्दा कमजोर पक्ष नै मार्केटिङ रहेको बताउँदै सरकारी संस्था भएकाले उपभोक्ताले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहे पनि त्यसलाई प्रभावकारी ब्रान्डिङमा रूपान्तरण गर्न नसकिएको बताए।

उनका अनुसार डीडीसी अब बदलिँदो बजार र निजी डेरी उद्योगसँग प्रतिस्पर्धा गर्न विज्ञापन, ब्रान्डिङ र बजार प्रवर्द्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ। नयाँ नेतृत्वसँगै केन्द्रीय कार्यालयले विज्ञापनका लागि बजेट छुट्याउने, होर्डिङ बोर्ड राख्ने, डिजिटल प्रचार अभियान सञ्चालन गर्ने तथा ब्रान्डलाई आधुनिक ढंगले प्रस्तुत गर्ने योजना अघि बढाएको छ। पौडेलले संस्थानले लामो समयदेखि कुनै औपचारिक विज्ञापन अभियान सञ्चालन नगरेको उल्लेख गर्दै अब गुणस्तरीय उत्पादनसँगै प्रभावकारी प्रचार–प्रसारलाई पनि समान प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए।

पौडेलका अनुसार प्रधानमन्त्रीले सामाजिक सञ्जालमा डीडीसीको याक चिज प्रयोग गरेको तस्वीर सार्वजनिक गरेपछि संस्थानले ब्रान्डिङको प्रभाव प्रत्यक्ष रूपमा अनुभव गरेको छ। त्यसयता याक चिजको बिक्री पहिलेको तुलनामा लगभग दोब्बर भएको भन्दै उनले उत्पादन राम्रो हुनु मात्र पर्याप्त नहुने, त्यसलाई प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्‍याउन प्रचार–प्रसार र सार्वजनिक उपस्थितिको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने निष्कर्षमा संस्थान पुगेको बताए।

डीडीसीका अनुसार अहिले बजारमा सबैभन्दा ठूलो चुनौती खुला रूपमा बिक्री हुने दूधबाट आएको छ। प्लास्टिकमा प्याक गरेर बिक्री हुने खुला दूधले गुणस्तरका मापदण्ड पालना गर्ने उद्योगलाई अस्वस्थ प्रतिस्पर्धाको सामना गर्न बाध्य बनाएको पौडेलको भनाइ छ। उनका अनुसार करिब एक दशकअघि प्याकेज्ड दूधको बजारमा डीडीसीको हिस्सा करिब ४० प्रतिशत रहेको अनुमान गरिन्थ्यो भने हाल खाद्य तथा दुग्ध प्रविधिसम्बन्धी एक कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार यो हिस्सा करिब २० प्रतिशतमा झरेको अनुमान गरिएको छ। त्यस्तै, करिब ६० प्रतिशत बजार खुला दूधले ओगटेको देखिए पनि यसबारे आधिकारिक सर्वेक्षण भने अझै हुन बाँकी रहेको उनले बताए। उपभोक्ताले मूल्यका आधारमा खुला दूध रोजे पनि त्यसको गुणस्तर र खाद्य सुरक्षामाथि प्रभावकारी नियमन आवश्यक रहेको उनको धारणा छ।

पछिल्लो समय डीडीसीका उत्पादनमध्ये मोहीको माग उल्लेख्य रूपमा बढेको संस्थानले जनाएको छ। स्वास्थ्यप्रति बढ्दो सचेतना र चिनी मिसाइएका पेय पदार्थको विकल्पका रूपमा मोही रोज्ने उपभोक्ताको संख्या बढ्दै गएको भन्दै पौडेलले सामाजिक कार्यक्रमहरूमा समेत कोल्ड ड्रिङ्क्सको सट्टा मोही प्रयोग गर्ने चलन बढेको बताए। तर सीमित उत्पादन क्षमता र जनशक्तिका कारण अहिले पनि मागअनुसार बजारमा मोही उपलब्ध गराउन नसकिएको उनले स्वीकार गरे। यही मागलाई मध्यनजर गर्दै डीडीसीले साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका आधुनिक बोतलमा मोही बजारमा ल्याउने तयारी पूरा गरेको जनाएको छ।

बजार विस्तारका लागि डीडीसीले सरकारसँग नीतिगत सहयोगको पनि अपेक्षा गरेको छ। पौडेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल, सरकारी क्यान्टिन तथा अन्य सार्वजनिक निकायमा आवश्यक दुग्धजन्य सामग्री डीडीसीबाट खरिद गर्ने व्यवस्था गरियो भने संस्थानले स्थायी बजार पाउनेछ। यसबाट किसानको दूध सहज रूपमा खपत हुने र संस्थान पनि आर्थिक रूपमा थप सुदृढ बन्ने उनको विश्वास छ।

किसानको भुक्तानी व्यवस्थामा पनि सुधार भइरहेको भन्दै पौडेलले संस्थानको समग्र बक्यौता उल्लेख्य रूपमा घटेको जानकारी दिए। उनका अनुसार काठमाडौं दुग्ध वितरण आयोजना अन्तर्गतका सहकारीहरूको फागुनसम्मको भुक्तानी भइसकेको छ भने हाल चैत, वैशाख र जेठ महिनाको मात्रै भुक्तानी बाँकी रहेको छ। केही निजी डेरी उद्योगहरूले डीडीसीको नाम जोडेर किसानलाई भुक्तानी रोक्ने गरेको आरोप लगाउँदै उनले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता पनि औंल्याए।

आर्थिक संकट, पुराना उपकरण, बढ्दो उत्पादन लागत र तीव्र बजार प्रतिस्पर्धाका कारण विगत केही वर्ष दबाबमा रहेको डीडीसी अहिले क्रमशः सुधारको दिशामा अघि बढिरहेको संस्थानको दाबी छ। पौडेलका अनुसार संस्थान विस्तारै नाफाको बाटोमा उन्मुख भइरहेको छ र सकारात्मक गतिविधिहरूले उपभोक्ताको विश्वास पनि थप बलियो बनाइरहेका छन्। उनले गुणस्तरीय उत्पादनसँगै प्रभावकारी बजारिकरण, ब्रान्डिङ र वितरण प्रणालीलाई सुदृढ बनाउन सके डीडीसीले गुमाएको बजार पुनः प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार डीडीसीका लागि अबको प्रमुख चुनौती गुणस्तरीय उत्पादन मात्र होइन, त्यसलाई आधुनिक बजारको आवश्यकता अनुसार प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्‍याउनु पनि हो।