डडेलधुरामा ३८ वर्षपछि १२ परिवारले पाए जग्गाधनी पुर्जा
डडेलधुरा। परशुराम नगरपालिका–१२ का १२ परिवारले लामो प्रतीक्षापछि जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। सुकुम्बासी समस्या समाधान आयोगले करिब ३८ वर्षअघि नै यी परिवारको जग्गाको नापनक्सा गरिसकेको भए पनि पछिल्लो प्रक्रिया अगाडि बढ्न नसक्दा उनीहरूले पुर्जा पाउन सकेका थिएनन्।
साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा आयोगले नापी कार्य गरेको थियो। त्यसपछि २०५५ साल पुसमा पुनः प्रक्रिया अगाडि बढाइए पनि पुर्जा वितरण भने हुन सकेको थिएन। यसका कारण खजुरानी र तुलाभाडी क्षेत्रका बासिन्दा लामो समयदेखि आफ्नो जग्गाको कानुनी हक प्राप्त गर्ने पर्खाइमा थिए।
हालको समितिले प्रचलित कार्यविधि र नियमबमोजिम विगतमा अधुरो रहेको यो प्रक्रियालाई निरन्तरता दिँदै अगाडि बढाएको हो। नियमानुसार राजस्व दाखिला गराई विगतमै नापनक्सा सकिएको जग्गाको हकमा प्रक्रिया टुंग्याइएपछि सम्बन्धित १२ परिवारलाई प्रमाणपुर्जा वितरण गरिएको हो। यसरी झन्डै चार दशकअघि जग्गाको नापनक्सा भए पनि स्वामित्वको कानुनी आधार नपाएका स्थानीयवासीले अन्ततः आफ्नो हक प्राप्त गरेका छन्।